सप्तकोसी ब्यारेजका सबै ढोका खाेलिए, पानीको बहाव अझै उच्च

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। 

पानीको सतह घटाउन ब्यारेजका सबै ढोका खोलिए पनि नदीको बहाव भने अझै उच्च छ। कोसीको पानी अझै पनि ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ। पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव चार लाख क्युसेक प्रतिसेकेन्ड छ। 

अझै पनि ब्यारेजका सबै ढोका खुला छ। बिहानको समयमा पानीको बहाव चार लाख ६२ हजार तीन सय ४५ क्युसेक प्रतिसेकेन्डसम्म पुगेको र बहावमा उतारचढाव जारी रहेकाले पूर्ण सतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ। 

प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ। उता कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लोपटकको चार लाख ६२ हजार तीन सय ४५ क्युसेक पानी अहिलेसम्मकै तेस्रो उच्च बहाव हो।

यसअघि ब्यारेजमा कोसी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी सात लाख क्युसेक मापन भएको थियो। १९८९ मा भने पानीको बहाव चार लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। 

नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ भने यो चौथोपटक खोलिएको हो। यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो।

यसैबीच नदीको बढ्दो जलसतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ। सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति नपुर्याए पनि जोखिम भने कायम रहेको जनाएको छ। 
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखी निरन्तर अनुगमन जारी रहेको बताएका छन्। 

सुझावित समाचार