मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासीखण्डमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।
मदन भण्डारी लोकमार्गको मौवासीखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको लोकमार्गको हेरचाहको जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए। उनले भने, ‘आइतबार बिहानदेखि पन्छाउने कार्य भइरहेकाे छ। तर, खुल्ने अवस्था अझै छैन।’
लगातारको वर्षाले पहिरो खस्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार बिहान ३ बजेबाट खसेको पहिरोले करिब ५० मिटर जति सडक पुरेको छ।
हाल पश्चिमबाट पूर्वतर्फ हिँडेका लामो दूरीका सवारीसाधनलाई कटारीबाटै अर्को बाटो पठाइएको छ भने पूर्वबाट पश्चिम हिँडेका सवारीलाई गाईघाटबाटै अर्को बाटो पठाइँदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाइएको छ।