नेकपा एमालेका अध्यक्ष केपी ओलीले सय किलो सुन प्रकरणमा स्वतन्त्र, निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने गरेको बताएका छन्। आइतबार एमालेकाे केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उक्त पत्रकार सम्मेलनमा ओलीद्वारा प्रेषित प्रेस वक्तव्यमा भनिएको छ, ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचालेजस्तै सरकार स्वतन्त्र, निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने र त्यस्तो समिति गठन गर्न नहुने अनुचित अडान लिएर सदनको कारबाहीलाई अगाडि बढ्न बाधा सिर्जना गरिरहेको छ। सरकारको अनुचित अडानले यस विषयमा सरकार र सत्ताधारी नेतृत्वको संलग्नताको आशंकालाई थप पुष्टि गर्ने काम गरिरहेको छ।’
सुन तस्करी प्रकरणमा सरकार जरासम्म पुग्नुको साटो टुप्पोटुप्पो मात्रै हेरेर बसेको उनको आरोप छ। इलेक्ट्रिक सिगरेट (भेप)मा सुन तस्करीको विषयमा नाम जोडिएका केही व्यक्तिमाथि सोधपुछसमेत नगरिएकोप्रति उनले असन्तुष्टि जनाए।
सम्मेलनमा अध्यक्ष ओलीले मन्त्रीकाे राजीनामाको विषय उठाएपछि कांग्रेस सांसद सुनील शर्मालाई सरकारले पक्राउ गरेको दाबी गरे।