आजको मौसम : देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसका साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

दिउँसो देशभर पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिकाे समयमा पनि कर्णाली, सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     

 

See More On

सुझावित समाचार