प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई विदेश पलायन हुनबाट रोक्न दीर्घकालीन र रणनीतिक परिवर्तनका ठूला आयोजनामा आफ्नो ध्यान रहेको बताएका छन् । युवा दिवसका अवसरमा शनिबार भरतपुर महानगरपालिकाले गरेको कार्यक्रममा प्रचण्डले ठूला आयोजनामार्फत रोजगारी सिर्जना गरेर मात्रै युवालाई देशमै टिकाउन सकिने बताएका हुन् ।
‘युवा दिवस मनाउँदै गर्दा सोच्नुपर्ने मुख्य विषय नेपाली युवाभित्र भएको सिर्जनात्मक क्षमतालाई देशको आर्थिक विकास र समृद्धिको निम्ति कसरी प्रयोग गर्ने भन्ने प्रश्नमा सबैको ध्यान जान्छ । मैले प्रधानमन्त्रीको हैसियतमा विदेश जाने युवा श्रमिकको हकहित कसरी संरक्षण गर्ने भन्नेबारेमा योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरिसकेको छु, जहाँ तीन लाख युवा आवद्ध भइसकेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘जबसम्म देशभित्र युवाका निम्ति रोजगारीको उपयुक्त वातावरण बन्दैन, तबसम्म युवा पलायन रोकिँदैन ।’
ठूला रणनीतिक आयोजनाबाट यस्तो चुनौती तोड्न सकिने उनको अपेक्षा छ । ‘मेरो ध्यान दीर्घकालीन, रणनीतिक ठूला आयोजना देशभित्र गर्ने भन्नेतर्फ केन्द्रीत छ । केही समय पहिलेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको कृषि क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भनेर समझदारी भएको र केही दिनमै एउटा टोली भारत जान्छ,’ उनले भने । भरतको बाटो हुँदै बंगलादेशमा विद्युत बेच्ने सहमति भएको पनि बताए ।
छिट्टै हुने चीन भ्रमणका क्रममा पनि यहाँको कृषि प्रविधिको विकासमा छलफल गर्ने प्रधानमन्त्रीको भनाई छ । रसुवा नाकाहुँदै विद्युत् निर्यातको सहमति गर्ने जानकारी दिए ।
कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताएका उनले नेपालमै मल कारखाना खोल्ने कार्य पनि अघि बढेको बताए । प्रधानमन्त्रीले आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन युवाहरूलाई अपिल समेत गरेका छन् ।