जिल्ला कारागार संखुवासभामा दुई कैदीको सुरक्षा घेराभित्र शंकास्पद मृत्यु भएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।
शनिबार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलांगीका दाजु मादी– ५ का ३० वर्षीय प्रकाश तोलांगीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताए।
कारागारका दुईजनाविरुद्ध किटानी जाहेरी दिँदा कारागार प्रशासन प्रमुख र सुरक्षाकर्मी १० जना नै पर्ने भएकाले किटानी जाहेरी दिएको मृतकका दाजु प्रकाश तोलांगीले बताए। प्रहरीले नौजना कैदीलाई समेत हिरासतमा राखेर अनुसन्धान गरिरहेको र अन्य कैदीहरूलाई समेत अनुसन्धान गरिरहेको जनाएको छ।
शुक्रबार गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानव अधिकार आयोगको टोली, मादी नगरपालिका मेयर जीवन लिङ्थेप, पीडित पक्ष, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डिएसपी वीरेन्द्र गोदार, अन्य संघसंसस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरूसहितको व्यापक छलफलपछि मृतकको तर्फबाट किटानी जाहेरी दर्ता गर्ने र पोस्टमार्टम गर्नेलगायतका पाँचबुँदे सहमति भएको थियो।
मृतकको शवको जिल्ला अस्पतालमा शनिबार पोस्टमार्टम गर्ने कामसमेत सकिएको छ। तर, शुक्रबार भएको सहमतिअनुसार प्रहरी प्रशासनले काम नगरेको भन्दै पीडित पक्षले शव नबुझ्ने अडान दोहोर्याएका छन्। उनीहरू पोस्टमार्टमपछि प्रहरीले किटानी जाहेरी परेका पीडकहरूलाई सार्वजनिक नगरेको भन्दै शव नबुझ्ने अडान लिएका हुन्।
मादी नगरपालिकाका मेयर जीवन लिङ्थेपले प्रहरी प्रशासनले सहमतिअनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले पीडितलाई क्षतिपूर्तिलगायतका विषयलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले हतारमा शव नबुझ्ने बताए।
गत २४ गते बुधबार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।