बलेवाको भैरवस्थानमा हरेलो मेलाको तयारी सुरु

शनिबार, २७ साउन, २०८०
डिजिटल संस्करण

बाग्लुङको ऐतिहासिक धार्मिक शक्तिपीठ बलेवा भैरवस्थान मन्दिरमा हरेलो मेलाको तयारी सुरु गरिएको छ। बाग्लुङ नगरपालिका वडा नं १२ मा रहेको मन्दिर परिसरमा दोस्रो हरेलो मेलाको तयारी सुरु गरिएको हो।

‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ अगामी भदौ ५ गते मंगलबारको दिन मेला आयोजनाको तयारी गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए।

मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन्। मेलाको अवसरमा भैरवस्थान लोकभजन, छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने बताइएको छ। मेलामा १३ लाख रुपैयाँ आम्दानी र ११ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मेला आयोजनाका लागि बाग्लुङ नगरपालिकाको विशेष सहयोग रहेको छ।

मेलामा ५ वटा रेस्टरेन्टका स्टलहरू राखिनेछन्। भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित छ। मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने अनुमान छ।

बाइसे चौबिसे राज्यको समयमा सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यभित्र पर्छ। भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरूले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पूजा गर्ने गर्छन्। सो अवसरमा गत वर्षदेखि हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको हो।

दुई दर्जन हिम शृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने विश्वास रहिआएको छ। नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरूको चाप धेरै हुन्छ। मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ। उक्त मन्दिरमा दर्शनार्थीसँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकाल बताउँछन्। नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरालगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन। मौसमी समस्या र अन्य कामका लागि कोटको पूजा गर्ने चलन छ।

भैरवको पूजा गर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थीहरू आउने गर्छन्। मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनि छन्। मन्दिरनजिकै पाग्जाकोटको धुरी छ। धुरीनजिकै भ्युटावर पनि निर्माण गरिएको छ। भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डेनजिकै पर्छ। प्राकृतिक दृश्यावलोकन गरेर होमस्टेमा बस्ने चाहना भएका पर्यटक पनि भैरवस्थान पुग्ने गरेका छन्। बाग्लुङ सदरमुकामदेखि झन्डै १० किलोमिटरको दूरीमा रहेको उक्त मन्दिरमा पर्वतको कुश्मादेखि यान्त्रिक पुल तरेर करिब २ घण्टाको पैदल दूरीमा त्यहाँ पुग्न सकिन्छ।

सुझावित समाचार