प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा मौलिक हकका रूपमा राखिएको स्वास्थ्य, शिक्षालगायत विषयको व्यावहारिक कार्यान्वयनका लागि सरकार गम्भीर भएर लागिपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एक सय दिनमा गरेका काम सार्वजनिक गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले सीमावर्ती क्षेत्रमा नर्सिङ पढ्न जाने र उतै काम गर्न जाने अवस्थाको अन्त्य गर्ने र पलायन भएका स्वास्थ्यकर्मी नेपाल फर्काउन पनि सरकार लागिपरेको जानकारी दिए। उनले अन्य निकायले भन्दा स्वास्थ्य मन्त्रालयले जोस–जाँगर देखाएर कार्य सम्पादन गरेको भन्दै आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको उनको धारणा छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली गरिबीका कारण उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्वता गरे। उनले सरकारले सुर्तीजन्य पदार्थबाट प्राप्त गरेको ६ अर्बभन्दा बढी रकम स्वास्थ्य मन्त्रालयलाई दिन माग गर्दै उक्त रकम क्यान्सरका बिरामीको उपचारमा खर्च हुने बताए।
‘यस वर्ष बजेटमा मन्त्रालयलाई २० प्रतिशत कम बजेट आएको छ, तर हामीले भएको स्रोत–साधन परिचालन गरेर स्वास्थ्य सेवा सहज बनाउँछौँ,’ मन्त्री बस्नेतले भने, ‘दुर्गमका मानिसले स्वास्थ्यकर्मीको अनुहार देख्न नपाउने अवस्था थियो, त्यसको अन्त्य भएको छ।’