प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा श्रमबजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो।
छलफलमा सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीले विभिन्न प्रकृतिका समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिए।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका थिए।
छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्रसचिव, श्रमसचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायतका विशिष्ट पदाधिकारी सहभागी थिए।