चोरीका सवारीसाधन अब ‘लोकोमो’ले खोज्ने

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

चोरीका सवारीसाधन खोज्न प्रहरीलाई सहयोग गर्ने गरी जिपिएस प्रविधि लोकोमो सुरु भएको छ । सुरक्षित पार्किङबाटै पनि दुईपांग्रे सवारीसाधन हराउने र चोरी हुने सन्दर्भमा यो प्रविधि (एप) प्रयोगमा आएसँगै प्रहरीलाई खोजी गर्न थप सफलता मिल्ने विश्वास गरिएको छ ।

अमेरिका र नेपालमा गरिएको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको हो । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार सार्वजनिक स्थानमा सवारी छाड्नुपरे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गरेमा मोटरसाइकल स्टार्ट हुँदैन र चोरी गर्न सक्दैन ।

कथंकदाचित चोरी भएमा मोबाइल फोनबाटै मोटरसाइकल बन्द गर्ने र मोबाइलमै लोकेसन पहिचान गरी सवारीसाधन पत्ता लगाउन सकिने उनले बताइन् । रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन, तार काट्न अथवा चोरी प्रयास गरे सेन्सर सक्रिय भई सवारीधनीलाई सूचना पठाउँछ । कुनै कारणबाट सवारीसाधन चोरी भएको खण्डमा सवारीधनीले प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्ने बताइएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रुटमा, कति गतिमा गुडिरहेको छ भनी हेर्ने र प्रहरी परिचालन गर्न सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । तर, सवारीधनीले सवारीकोे लोकेसन भने प्रहरीलाई उपलब्ध गराउनुपर्ने लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेत बताउँछन् । 

रात्रिकालीन सुरक्षालक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ । रातको समय यात्रा गर्नेले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ–पुराना जुनसुकै मोटरसाइकल, स्कुटर, चारपांग्रे सवारीमा जडान गर्न सकिने प्रवद्र्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ ।

सुझावित समाचार