१९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलको सेमिफाइनलबाट बाहिरिएका छन् । चीनको होङझाउमा हुने एसियाडमा स्थान पक्का पारेका अमिरमाथि दीपक थापाले ३–२ को कठिन सेटमा निराश पारेका हुन् ।
दीपकले फाइनलमा उपाधि रक्षा गर्न अरहन्तकेशर सिंहाविरुद्ध खेल्नेछन् । अरहन्तले दोस्रो सेमिफाइनलमा उमित शाक्यलाई ३–० ले हराए । प्लेट च्याम्पियनसिपमा पासाङ लामा र विनायक श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ । पासाङले सेमिफाइनलमा अनिल बज्राचार्यलाई ३–० ले हराए । विनायकले रिद्धि शाक्यमाथि ३–० को जित निकाले ।
महिला एकलमा कृष्णा थापा तीनै खेल जित्दै फाइनलनजिक पुगेकी छिन् । वृष्णाले पहिलो चरणमा भावना सुनुवारलाई ३–०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३–१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३–० ले हराइन् । राष्ट्रिय च्याम्पियन बिपना ब्लोनले पनि दुईवटै खेलमा जित निकालिन् । उनले पहिलो चरणमा भावना सुनुवार र दोस्रो चरणमा अस्मिता नगरकोटीलाई समान ३–० ले सोझो सेट हराइन् ।