बढ्दो डेंगु संक्रमण नियन्त्रण रोकथामका लागि विराटनगर महानगरपालिकाले निःशुल्क परीक्षण गर्न थालेको छ । महानगरपालिकाअन्तर्गतको रानी र बैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्न थालेको हो।
डेंगु लागेको शंका लागेमा जोकोहीले पनि चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गराउन पाउने विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए। सुनसरीको धरानलाई इपिसेन्टर बनाएर कोसी प्रदेशभरि डेंगु फैलन थालेपछि संक्रमण नियन्त्रण र रोकथामका लागि विराटनगर महानगरले पनि पूर्वतयारीलाई विशेष प्राथमिकता दिएको महाशाखा प्रमुख अलीको भनाइ छ।
विराटनगर महानगरले हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म संयुक्त रूपमा ‘डेंगु खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गर्दै आएको छ ।
यसैगरी विराटनगर महानगरभरि निजी स्वास्थ्य संस्थामा डेंगुको परीक्षण गराउँदा प्रतिव्यक्ति ६ सय रुपैयाँभन्दा धेरै लिन नपाउने नियम पनि महानगरले बनाएको छ। डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरूले मनमौजी एक हजार आठ सय रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो आएपछि महानगरले अधिकतम ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको हो।