मनसुनमा दीर्घरोगीले यी कुरामा ध्यान दिनुस्

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

वर्षायाममा ब्याक्टेरिया तथा विभिन्न रोगका जीवाणु सक्रिय हुन्छन् । कतिपयलाई एलर्जी हुन्छ । रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले दीर्घरोगीहरूमा संक्रमण हुने जोखिम अन्यको दाँजोमा धेरै रहन्छ । मुटुका बिरामी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपना, मधुमेहलगायतका समस्या भएका दीर्घरोगीले यो मौसममा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ । 

प्रशस्त पानी पिउने : गर्मीमा बढी पसिना बग्ने भएकाले शरीरमा पानीको मात्रा अपुग हुन्छ । त्यसैले पानी प्रशस्त पिउनुपर्छ । यसले शरीरको तापक्रम स्थिर राख्छ । एकैपटक धेरै पानी पिउनेभन्दा पनि एक–दुई घन्टाको ग्याप राखेर पिइरहनुपर्छ । 

फलफूल सेवन : मौसमी सब्जी, फलफूलको सेवन गर्नुपर्छ । यसले रक्तचाप र मुटुको गति सन्तुलनमा राख्न मद्दत गर्छ । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुन सक्छ । त्यसैले यस्ता खानेकुराबाट टाढै रहनुपर्छ । 

धूम्रपान तथा मद्यपान नगर्ने : धूम्रपानले शरीरलाई सुक्खा बनाउने काम गर्छ । मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कम गर्छ । धूम्रपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । 

व्यायाम गर्दा ध्यान दिने : गर्मी भएको वा चर्को घाम लागेको समयमा व्यायाम गर्नुहुँदैन । गर्मी कम भएको समय बिहान बेलुकी व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्नु वा हिँड्नुअघि र हिँडिसकेपछि पानी पिउनुपर्छ । 

त्यस्तै, गर्मी मौसममा चर्को घाम लागेका वेला घरबाहिर निस्कनुहुँदैन । चर्को घामबाट बच्नुपर्छ । बढी परिश्रम पर्ने काम यो समयमा कम गर्नुपर्छ । बाहिर निस्कनै परे छाता ओढेर हिँड्नुपर्छ । 

औषधि : दीर्घरोगीले सेवन गर्दै आएको औषधि नियमित सेवन गर्नुपर्छ । ग्रामीण क्षेत्रमा बस्नुहुन्छ भने केही समयका लागि पुग्ने औषधि घरमै ल्याएर राख्नु राम्रो हुन्छ । पानी पर्ने, बाढी–पहिरो जानेलगायत कारणले सडक अवरुद्ध हुँदा औषधि नपाइन सक्छ । 

सरसफाइमा ध्यान दिने : यो समयमा लामखुट्टेको संक्रमण बढ्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नका लागि सरसफाइमा ध्यान दिनुपर्छ । घरवरपर सफा राख्नुपर्छ । आफ्नो घर, आँगन वा आफू बसोवास गर्ने क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्नुपर्छ । सुत्दा झुल प्रयोग गर्नुपर्छ । 

डाक्टरसँग परामर्श : कुनै समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

सुझावित समाचार