मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एकजनाको १२ घन्टापछि जीवितै उद्धार गरिएको छ ।
स्थानीयवासीले बेपत्ता भएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घन्टापछि जीवितै उद्धार गरेका हुन् । उनलाई पहिरोले घर बगाएको स्थानभन्दा चार किलोमिटर तल बागमती खोलाकिनार बगेरीमा स्थानीयले उद्धार गरेका हुन् । उद्धार गरिएका घिसिङको शरीरभरि घाउचोट लागेको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका– १ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए । हिजाे बिहान गएको पहिरोले अक्कलबहादुरको घर बगाउँदा उनी पनि घरसँगै बगेका थिए । पहिरोमा परेर अक्कलबहादुरकी ५५ वर्षीया श्रीमती शान्तिमाया स्याङ्तानको मृत्यु भएको छ । पहिरोबाट उद्धार गरिएकी शान्तिमायालाई उपचारका लागी स्थानीय स्वास्थ्य चौकीमा ल्याउने क्रममा मृत्यु भएको थियो ।
यस्तै, पहिरोमा परी हराइरहेका पाँचजनाको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पहिरोमा परी ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षका मिलन पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी अझै बेपत्ता रहेका छन् ।