मच्छिन्द्रले दोस्रो चरणमा मोहन बगानसँग खेल्ने

पहिलोपटक दोस्रो चरणमा स्थान बनाएको मच्छिन्द्र ३१ साउनमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग भिड्दै

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण
मच्छिन्द्रले दोस्रो चरणमा मोहन बगानसँग खेल्ने

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्ने भएको छ । मच्छिन्द्रले मंगलबार दशरथ रंगशालामा प्रारम्भिक छनोट चरणमा भुटानको लिग च्याम्पियन पारो एफसीलाई ३–२ ले हराउँदै दोस्रो चरणको स्थान बनाएको हो । मच्छिन्द्रले पहिलोपटक एएफसी कपको प्रारम्भिक चरण पार गरेको हो । अघिल्लोपटक पहिलो चरणबाटै बाहिरिएको मच्छिन्द्रले अब ३१ साउनमा कोलकाताको साल्टलेक रंगशालामा मोहन बगानको सामना गर्नेछ । मोहन बगान भारतको इन्डियन सुपर लिग खेल्ने क्लब हो । 

मच्छिन्द्र र मोहन बगानबीचको विजेताले समूह चरणमा स्थान बनाउनेछ । यस टोलीले बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग भिड्नेछ । गत वर्ष श्रीलंकाको ब्लु स्टारसँग मच्छिन्द्र प्रारम्भिक चरणमै पराजित भएको थियो । पारोविरुद्धको खेलमा मच्छिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अ‍ोलावाले आफिजले समान एक गोल गरेका थिए । अनुभवी खेलाडीको साथ पाएको पारोले रंगशालामा खेलको छैटौँ मिनेटमै १–० को अग्रता लिएको थियो । काजुओकोले अप्रत्याशित रूपमा मच्छिन्द्रविरुद्ध अग्रता गोल गरेका हुन् । डिबक्सभित्रको बायाँ साइडमा यशी दोर्जीको सटिक पासमा काजुअ‍ोले सहजै गोल गरे ।

मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उनको प्रहारलाई बचाउन प्रयास नगरेका होइनन्, तर बल श्रेष्ठको ग्लोबमा लाग्दै गोलमा परिणत भयो । चार हजार एक सय ५० घरेलु दर्शकमाझ मच्छिन्द्रले खेलको १२औँ मिनेटमै बराबरी गोल फर्काउन सफल भयो । विमलले घरेलु टोलीलाई बराबरीमा ल्याएका हुन् । उनले आयुषको क्रसमा हेडिङ गोल गरे । खेलमा फर्किएको मच्छिन्द्रले पारोमाथि बिस्तारै दबाब राख्न सफल भयो । खेलको १५अ‍ौँ मिनेटमा आयुषले मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । 

मध्यान्तरअघि तीन गोल
मच्छिन्द्रको दोस्रो गोलमा उत्कृष्ट तालमेल बनेको थियो । स्ट्राइकरद्वय विमल र आयुषबीचको उत्कृष्ट तालमेलका कारण मच्छिन्द्रको गोल सम्भव भएको हो । विमलले डिबक्सभित्र उपलब्ध गराएको पासमा आयुषले पहिलो टचमै गोल ठोके । त्यसपछि खेलको ३९अ‍ौँ मिनेटमा मच्छिन्द्रले ३–१ को अग्रता लियो । यसपटक आफिजले काउन्टर एट्याकमा गोल गरे । मिडफिल्डमा अ‍ोमोलाजाले आफिजलाई पास दिए । ओमोलाजाको क्रसमा आफिजले हेडिङ गोल गर्दै मच्छिन्द्रलाई तेस्रो गोलको अग्रता दिलाए । सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको पारोले मच्छिन्द्रले बराबरी गोल फर्काएलगत्तै पकड गुमाएको थियो । 

मच्छिन्द्रले भने बिस्तारै बल पोसेसन बनाउँदै विपक्षीमाथि दबाब कायम गरेको थियो । मध्यान्तरपछि पारोले खेलमा सुधार गरेको थियो । पारोले मच्छिन्द्रका खेलाडीले गल्ती गर्दा गोल प्रयास गरेको देखिन्थ्यो । खेलको ५८अ‍ौँ मिनेटमा दोर्जीको गोल प्रयासलाई मच्छिन्द्रका गोलरक्षक विशालले बचाए । निरन्तर खेलमा फर्कने प्रयास गरिरहेको पारोले खेलको ७१अ‍ौँ मिनेटमा ३–२ को गोलअन्तर बनायो । एभान्सले यसपटक पारोका लागि गोल गरे । पारोका करिमको एक सटिक फ्रिकिक गोलपोस्टभन्दा माथि गएको थियो ।

‘ए’ लाइसेन्स अनिवार्य
खेलको अन्तिम समयमा गोलरक्षक तथा कप्तानसमेत रहेका विशालले एभान्सले ६ यार्ड बक्सबाट प्रहार गरेको बल क्लियर गर्दैै मच्छिन्द्रलाई दोस्रो चरणको स्थान पक्का गराए । यद्यपि, खेलको अन्तिम इन्जुरी समयमा विमलले मच्छिन्द्रको अग्रतालाई ४–२ पुर्‍याउन चुके । उनले लगभग खाली पोस्टमै गोल गर्न सकेनन् । गत सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजसँग एएफसी ‘ए’ लाइसेन्स नभएका कारण मच्छिन्द्र भाग्यमानी हुँदै एएफसी कपको प्रारम्भिक चरण खेल्न अवसर पाएको हो । लिगमा मच्छिन्द्र उपविजेता हो । एएफसी कपको प्रारम्भिक चरणमा खेल्न ‘ए’ लाइसेन्स अनिवार्य हुनुपर्छ । नेपालका विभागीय तीनवटै क्लबसँग ‘ए’ लाइसेन्स छ । 

दबाबपूर्ण खेल थियो
 किशोर केसी, प्रशिक्षक, मच्छिन्द्र

यो खेल निकै दबाबपूर्ण थियो । हामीले पहिलो हाफमा निकै राम्रो खेल्यौँ । यद्यपि, सुरुवातीमै गोल बेहोर्दा अलि कमजोरजस्तो देखियो । त्यसपछि तीन गोल हुँदा खेलमा पकड बनायौँ । तर, जुन लक्ष्यका साथ मैदानमा ओर्लियौँ, त्यो पूरा नभएकोजस्तो लाग्छ । धेरै गोलअन्तरमा जित निकाल्ने योजना थियो । पारोसँग प्रेसर खेल हुँदा नै खेलाडीले फोकस गर्न सकेनन् । खेलाडीले जितका लागि सबै प्रयास गरे । जसरी पनि जित नै निकाल्ने योजना थियो । अहिले भएका गल्तीलाई अर्को चरणमा सच्याउने प्रयास हुनेछ । दोस्रो चरणमा मोहन बगानसँग खेल छ । उनीहरूको खेलबारे राम्रो जानकारी लिँदै योजना बनाउनेछु । अहिलेदेखि नै कस्तो हुन्छ भन्न सकिन्न । अर्को खेलमा सुरुमै अग्रता लिनुपर्छ । 

पहिलो हाफमा फोकस भएन
 पुष्पलाल शर्मा, प्रशिक्षक, पारो

सुरुवातमै अग्रता लिँदा खेलमा पकड बनाएकोजस्तो लागेको थियो । तर, मच्छिन्द्रले मध्यान्तरअगाडि नै तीन गोल गर्न सफल भयो । यहीँ नै हाम्रो फोकस गुमेकोजस्तो लाग्छ । एक प्रशिक्षकका रूपमा ‘परफेक्ट’ टिम बनाउने हो । मैले यस टिमलाई एक उत्कृष्ट टिम बनाउने कोसिस गरेको थिएँ । प्रतिस्पर्धामा मैदानले पनि धेरै असर गरेको देखियो । नेचुरल मैदानमा खेल्न खेलाडीलाई समस्या भयो । भुटानमा हामीले फरक किसिमको मैदानमा अभ्यास गरेका थियौँ । वर्षाका कारण मैदान ओसिलो थियो । खेलाडीले बल पोसेसन बनाउन सकेनन् ।

मोहन बगान कस्तो प्रतिद्वन्द्वी ?
भारतको फुटबल इतिहासमा मोहन बगान पुरानो क्लबका रूपमा चिनिन्छ । सन् १८८९ मै कोलकातामा यस क्लबको स्थापना भएको थियो । एसियाको सबैभन्दा पुरानो क्लबमा यो पर्छ । यस क्लबले रेकर्डका रूपमा राष्ट्रिय फुटबल लिगको उपाधि जितेको छ । यसैगरी, दुईपटक आइलिग उपाधि हात पारेको छ । यसैगरी, इन्डियन सुपर लिगमा मोहन बगानले एकपटक ट्रफी उचालेको छ । मोहन बगानमा धेरैजसो खेलाडी स्थानीय नै छन् । पछिल्लो समयमा तीन अस्ट्रेलियन खेलाडीले यस क्लबबाट खेलिरहेका छन् । यसैगरी, अल्वानिया र फ्रान्सका खेलाडी पनि यस क्लबमा छन् । 

मनाङ मात्रै समूह चरणमा
नेपालबाट मनाङ मस्र्याङ्दी क्लबले मात्रै सीधै समूह चरणमा प्रतिस्पर्धा गरेको इतिहास बनाएको छ । यसबाहेक अन्य क्लबको एएफसी कप रेकर्ड राम्रो छैन । पछिल्ला सिजन मच्छिन्द्र दशरथ रंगशालामा श्रीलंकाको ब्लु स्टारसँग प्रारम्भिक चरणमै पराजित हुँदै बाहिरिएको थियो । एएफसी कपको प्रारम्भिक छनोट खेलेको त्रिभुवन आर्मी क्लब दोस्रो चरणमा पुगेको थियो ।  

सुझावित समाचार