मुलुक समावेशिताको बाटोमा छ : देउवा

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक समावेशिताको बाटोमा अगाडि बढिरहेको बताएका छन् । मंगलबार लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले राजधानीमा गरेको कार्यक्रममा उनले सबैको अस्तित्वलाई स्वीकार गरेर जाने बाटोमा कांग्रेस रहेको बताए ।

देउवाले नेपाललाई प्राकृतिक रूपबाट मात्र नभई बहुसांस्कृतिक विशेषतालाई प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए । सांस्कृतिक सम्पदालाई विकास गरेर अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाइनुपर्ने उनको भनाइ थियो ।

‘कांग्रेसले सबैको देश हो भन्ने बनाउन समावेशी बनाउन काम गरिरहेको छ । पार्टीलाई पनि यसअनुसार अगाडि बढाएका छौँ । पार्टी पनि समावेशिताको बाटोमा गइरहेका छौं, राष्ट्रिय राजाीति पनि त्यो बाटोमा छ । यो देश सबैको हो यो पार्टी सबैको हो भन्ने बनाउनुछ,’ उनले भने ।

पार्टी महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गर्ने छुट नभएको बताए । उनले सांस्कृतिक विविधता नेपालको पहिचान भएको बताए । थापाले आदिवासी जनजातिलगायतको समस्या समाधान गर्न संविधानको कार्यान्वयन, आवश्यक कानुन निर्माण र स्रोतसाधनको व्यवस्थापन कांग्रेसले नै गर्नुपर्ने उल्लेख गरे । उनले कांग्रेसले हाल तीनवटै सरकारको नेतृत्व गरिरहेकाले गुनासो गर्ने छुट नभएको पनि बताए ।

महामन्त्री थापाले कांग्रेसले अहिलेको अवस्थामा सक्ने काम गर्ने र आगामी निर्वाचनमा बाँकी कामका लागि मत माग्ने अवस्था बनाउन लाग्नुपर्ने बताए । ‘आज पनि कांग्रेस नेतृत्वमा गठबन्धन छ । प्रधानमन्त्री कांग्रेसले नै बनाएको हो । कांग्रेस नेतृत्वमा रहेको सरकार हो । हामी केन्द्रमा पनि छौँ । चार प्रदेशमा हाम्रो नेतृत्वमा सरकार छ । सबै प्रदेश सरकारमा सहभागी छौैँ । तीन सय ३२ वटा स्थानीय सरकारको प्रमुख छ । अब कांग्रेसलाई गुनासो गर्ने सुविधा छैन । जुन सरकारमा छौँ, कानुन बनाउन परे बनाउने हो । स्रोतसाधन छुट्याउनुपर्छ छुट्याउने हो । यो कामको नेतृत्व पनि अरू कसैले गर्दैन, कांग्रेसले नै गर्ने हो । संविधानको नेता पनि हामी हौँ, कार्यान्वयन गर्ने पनि हामीले नै हो,’ थापाले भने ।

See More On

सुझावित समाचार