मुसिकोट नगरपालिका– १ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको गहनाका लागि हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आरोपमा सोमबार बेलुकी पत्रकार सम्मेलन गरी दुई महिलालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेकीमध्ये मुसिकोट नगरपालिका– १ सल्लेकी २३ वर्षीया सिर्जना बुढा बोहरा घटनामा प्रत्यक्ष संलग्न भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले सिर्जनाले ढुंगाको लोहाेरोले कन्चटमा हानेर हत्या गरेको देखिएको बताए ।
मृतकको कान र मुखबाट रगत निस्किएको अवस्थामा शव फेला परेको थियो । पक्राउ परेकी अर्की आरोपित मुसिकोट नगरपालिका– ५ टटेलाकी ३० वर्षीया शोभाकुमारी सुनार सोनी छिन् । उनले मृतकको घरबाट चोरी भएका गहना खरिद गरेकी हुन् ।
सोनीको मुसिकोट खलंगामा सुनचाँदी पसल छ । हस्तकलीको हत्यापछि सिर्जनाले चोरी गरेका सुनका कानबाली, तिलहरी, सिक्री, चन्द्रमा सोनीले एक लाख ८४ हजारमा खरिद गरेको प्रहरीको भनाइ छ ।
बजार मूल्यभन्दा करिब ५० हजार कम मूल्यमा सुन खरिद गरेको प्रहरीको भनाइ छ । सोनीले कसुर गरेर ल्याएका सामान बिक्री–वितरण गरेर प्रमाण नष्ट गर्न सहयोग गरेकाले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम पक्राउ गरिएको डिएसपी भट्टराईले बताए ।
कर्णाली प्रदेश केनाइन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विशेष प्रहरी टोली झिकाई जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको अनुसन्धानबाट घटनामा संलग्न सल्लेकी सिर्जनालाई पक्राउ गरिएको डिएसपी भट्टराईको भनाइ छ ।
उनले चोरी गरेको भिभो कम्पनीको मोबाइल, गालेर स्वरूप परिवर्तन गरेको अवस्थामा सुनको सिक्री एक थान, तिलहरी एक थान, सुनका कानबाली एक जोडा र सुनको चन्द्रमा एक थानसमेत बरामद गरिएको उनले जानकारी दिए ।
सिर्जनाले मृतक बुढाथोकीलाई पछिल्लो १० दिनदेखि पछ्याइरहेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।