डेंगुले यो वर्ष सातको मृत्यु, सात हजारभन्दा बढी संक्रमित

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा सातजनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए। 

सोमबार काठमाडाैंमा भएको कार्यक्रममा बोल्दै डा. मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए। उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए। 

डा. मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिवेला पनि डेंगु सर्न सक्ने बताए। हालसम्म सातजनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए।  

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको जानकारी दिए। 

डा. पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
  
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल शर्मा चालिसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउँदै डेंगुबाट बच्न लार्भा खोजेर नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। नेपालमा डेंगुको पहिलो केस ०६१ सालमा देखिएको थियो।  

See More On

सुझावित समाचार