केटाकेटी उमेरमा खासै चासो हुँदैन । तर, जब किशोरावस्था भइन्छ, तब सोच्न थालिन्छ, बांगोटिंगो दाँतले तनाव दियो । कुनै दाँत भित्र छिरेका छन्, कुनै बाहिर निस्किएका छन् । कसैसँग हाँस्दा दुई ओठ छुट्टिएलान् कि भन्ने डर हुन्छ । कतिपयले मज्जाको हाँसो छुट्दा हात लगेर दाँत छोप्ने हतार गर्छन् । अधिकांश व्यक्ति डेन्टल हस्पिटल/क्लिनिकमा पुगेर महँगो पैसा तिरेर दाँत बाँध्ने वा मिलाउने गर्छन् । तर, दाँत किन बांगोटिंगो आउँछ ? यसबारे थोरैले सोच्छन् ।
कारण
- कतिपयको दाँत वातावरणीय कारणले गर्दा बांगोटिंगो आउने गर्छ । अस्वस्थकर खानपिन र जीवनशैलीका कारण पनि हिजोआज बच्चाको बंगारा सानो आउने गरेको छ ।
- स्वतस्फूर्त बढ्न नपाउँदा दाँत बांगोटिंगो आएको हुन सक्छ । बंगाराको आकार सानो हुँदा दाँत उछिट्टिएर बाहिर आउँछ र बांगोटिंगो देखिन्छ ।
- जेनेटिक कारणले गर्दा पनि दाँत बांगोटिंगो आउने गर्छ । परिवारमा बुबा–आमाको बांगोटिंगो दाँत आएको छ भने छोराछोरीमा पनि यो समस्या देखिन सक्छ ।
- हिजोआज अधिकांश मान्छेमा दाँत अडिने हड्डीको भाग सानो देखिएको छ । जसले गर्दा दाँत बांगोटिंगो हुने क्रम पनि बढ्दो छ । दाँत नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ ।
- बच्चा वेलामा चिनीजन्य गुलियो पदार्थ खाने गरिन्छ । जसकारण, उम्रिँदै दाँत किराले खान्छ र हराउँछ । बच्चा वेलाको दाँतले स्पेस मेन्टेनर अर्थात् त्यसपछि पलाउने दाँतलाई सही ठाउँमा उम्रिन सहयोग गर्छ । तर, गुलियो खानेकुरा खायो भने दाँत किराले खान्छ र टुप्पो मात्रै रहन्छ । त्यो समस्याले गर्दा पनि बिग्रन्छ ।
- बच्चामा औँला चुसिरहने बानी, मुख खोलेर सुत्ने बानी, नङ टोक्ने बानी, जिब्रो बाहिर–भित्र गर्ने बानी हुन्छ । यस्ता क्रियाकलापले पनि दाँत बांगोटिंगो हुने र बाहिर निस्कने हुन्छ ।
- बच्चाको दूधे दाँत उपयुक्त समयमा ननिकाल्दा पनि नयाँ दाँत बांगोटिंगो भएर आउने गर्छ । हिजोआज दाँत बिग्रनुको प्रमुख कारण यो पनि बनेको छ ।
- दूधे दाँत समयभन्दा ढिला निकाल्दा मात्रै होइन, चाँडै निकाल्दा पनि यस्तो समस्या हुन सक्छ । हल्लिएर निकाल्नुपर्ने समयभन्दा अघि नै निकाल्यो भने पनि नयाँ दाँत बांगोटिंगो भएर आउँछ ।
- बच्चाको दाँत बांगोटिंगो भएमा १३–१४ वर्षको उमेरमै उपचार गर्नु राम्रो हुन्छ ।