किचेन सफा र व्यवस्थित राख्न ...

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

भान्साको सीधा सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुन्छ । यदि, भान्सा फोहोर भएमा विभिन्न रोगका कीटाणु खानाको माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन् । जसका कारण झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्ने गर्छन् । त्यसैले, स्वस्थकर जीवन जिउन चाहने हो भने भान्साको सरसफाइ अनिवार्य छ । भान्सा सफा राख्न निम्न चिजको सरसफाइ आवश्यक छ :
 

चिम्नी : खाना बनाउँदा निस्कने धुवाँ तथा खारले फोहोर बनाउँछ । विशेष गरी तरकारी पाकाउँदा खुर्सानीको राग, रोटी बनाउँदा निस्केको धुवाँ घरभरि फैलिन्छ । त्यसले फोहोर मात्रै गराउँदैन, सास फेर्न गाह्रो हुन्छ । भान्सामा उत्पन्न धुवाँ बाहिर जानका लागि चिम्नी राख्न आवश्यक छ । चिम्नी लामो समय टिकाउनका लागि यसको प्रयोगमा ध्यान दिनुपर्छ । गुणस्तरीय चिम्नीको छनोट गर्नुपर्छ । 

दराज :  भाँडाकुँडा वा आवश्यक खानेकुरा राख्नका लागि भान्सामा दराज राखिन्छ । यद्यपि, धेरै समयसम्म खानेकुरा राख्दा दराज कुहिने तथा कुनामा फोहोर जम्मा हुने हुन्छ । त्यसैले दराजको नियमित सरसफाइ गर्न आवश्यक हुन्छ । यस मौसममा झिँगा, साङ्ला, माउसुली, लामखुट्टेजस्ता हानिकारक जीव देखा पर्ने भएकाले दराजको राम्ररी सफाइ गर्न आवश्यक छ । त्यस्तै, डाइनिङ टेबल पनि सफा राख्नुपर्छ । 

ग्यासचुलो : भान्सामा सबैभन्दा बढी प्रयोगमा आउने सामान हो, ग्यासचुलो । तेल र अन्य फोहोरका कारण ग्यासचुलो सफा गर्न गाह्रो हुन्छ । यद्यपि, तातोपानी, भाँडा धुने साबुन, बेकिङ सोडाको प्रयोग गरेर ग्यासचुलो चम्काउन सकिन्छ । जसले कीटाणुबाट हुन सक्ने जोखिमबाट बच्न सकिन्छ । 

फ्रिज :  फ्रिजको सफाइ समय–समयमा गरिरहनुपर्छ । नरम कपडालाई कागतीपानीमा भिजाएर फ्रिजमा लागेको दाग हटाउन सकिन्छ । जसले त्यसमा रहेका ब्याक्टेरियालाई पनि हटाउँछ । 

भाँडाकुँडा :  सामान्यतया, जुठा भाँडाकुँडा राख्नुहुन्न, माझिहाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जुन स्वास्थ्यका दृष्किोणले पनि एकदमै ठीक हो । जुठो भाँडा लामो समयसम्म राख्दा त्यसमा ब्याक्टेरिया जम्मा हुन्छन् । जसका कारण हाम्रो शरीरमा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ । तसर्थ, खाना खाइसकेपछि सकेसम्म छिटो भाँडा सफा गर्नुपर्छ । 
 

See More On

सुझावित समाचार