विश्वकप खेल्न पाकिस्तानलाई सरकारको अनुमति

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

 पाकिस्तानी सरकारले भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन क्रिकेट टोलीलाई अनुमति दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आइतबार आसन्न विश्वकपमा क्रिकेट टोली पठाउने सरकारबाट अनुमति प्राप्त भएको जानकारी दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले खेलकुदमा राजनीति मिसाउन नहुने भनी स्वीकृति दिएको जनाएको छ । ‘खेलकुदलाई सधैँ राजनीतिबाहिर राख्नुपर्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘त्यसैले पाकिस्तान विश्वकप खेल्न भारत जान तयार छ ।’

५ अक्टोबरदेखि भारतमा एकदिवसीय विश्वकप हुँदै छ । पाकिस्तानले आफ्नो पहिलो खेल नै भारतसँग खेल्नेछ । ‘दुई देशको राजनीतिक विवादलाई अन्तर्राष्ट्रिय क्रिकेटमा जोड्नुहुँदैन,’ मन्त्रालयले भनेको छ । भारत एसिया कप खेल्न पाकिस्तान आउन नसकेपछि पाकिस्तानले पनि छिमेकी देशमा गएर क्रिकेट नखेल्ने भनेको थियो । पाकिस्तानले तटस्थ भूमिमा भारतविरुद्ध खेल्न तयार भएको जनाएको थियो । 

पाकिस्तानले क्रिकेटको भावनाअनुसार निर्णय गरेको जनाएको छ । ‘भारतले एसिया कप खेल्न पाकिस्तान नआउने भन्यो, तर हामी यस्तो गर्दैनौँ,’ मन्त्रालयले भन्यो । पाकिस्तानी विदेश मन्त्रालयले क्रिकेट टोलीको सुरक्षालाई लिएर चिन्ता भएको बताएको छ । मन्त्रालयले आइसिसी र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)लाई सुरक्षासम्बन्धी पत्र पठाएको छ । ‘हामी हाम्रो टोलीलाई भारत पठाउँछौँ, तर सुरक्षाको राम्रो प्रबन्ध हुनुपर्छ,’ पत्रमा भनिएको छ ।

सुझावित समाचार