पाँच दशकअघि विमानस्थलले उठीवास लगाएकाहरू काठमाडौं महानगरका कारण फेरि विस्थापित हुँदै

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण
पाँच दशकअघि विमानस्थलले उठीवास लगाएकाहरू काठमाडौं महानगरका कारण फेरि विस्थापित हुँदै

काठमाडौं महानगरको मनोहरा जग्गा एकीकरण आयोजनाका कारण विस्थापित हुने अवस्थामा पुगेका काठमाडौं– ३२ सरस्वतीनगरका प्रह्लाद पराजुलीको घर । तस्बिर : संजित परियार/नयाँ पत्रिका

धावनमार्ग निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उठीवास लगाएपछि प्रह्लाद पराजुलीको परिवार ४८ वर्षअघि काठमाडौं महानगरपालिका– ३२ स्थित सरस्वतीनगर आयो । धावनमार्गमा १६ रोपनी जग्गा परेपछि विस्थापित भएको पराजुली परिवारले सरस्वतीनगरमा चार आना जग्गा खरिद गरेर घर बनायो । तर, सरकारी निर्णयकै कारण उनको परिवार सरस्वतीनगरबाट पनि उठीवास हुने अवस्थामा पुगेको छ ।

काठमाडौं महानगरपालिकाले पेप्सीकोलादेखि जडीबुटीसम्मको ७३८.३३ रोपनी जग्गालाई ‘ल्यान्ड पुलिङ’मार्फत व्यवस्थित सहर बनाउने योजनासहित ३२ असार ०५९ मा मनोहरा जग्गा एकीकरण आयोजना गठन गरेको थियो । प्रत्येक स्थानीय परिवारलाई आधुनिक र व्यवस्थित सहर बनाउने सपना बाँड्यो । सोही प्रयोजनका लागि आयोजनाले १८ माघ ०६३ मा आयोजनाभित्रका सबै जग्गा रोक्का गर्ने निर्णय गर्‍यो । तर, कबुलनामा गरिएझैँ उक्त स्थानमा न व्यवस्थित सहर बन्न सक्यो, न रोक्का राखिएका जग्गा नै फुकुवा भए । पुरानै सपना दोहोर्‍याएर आयोजनाले स्थानीयसँग अहिले प्रतिआना १३ लाखदेखि ९८ लाख रुपैयाँसम्म रकम मागिरहेको छ । तर, उक्त रकम तिर्ने हैसियत स्थानीयसँग छैन । 

मारमा परेका ४५ वर्षीय पराजुलीले भने, ‘त्यसवेला विमानस्थलको धावनमार्गमा १६ रोपनी जग्गा परेपछि परिवारको उठीवास लागेको रहेछ । सरस्वतीनगरमा थोरै जग्गा किनेर बस्दै आएका थियौँ । अब यहाँबाट पनि उठीवास हुने अवस्था सिर्जना भयो । आफ्नै जग्गाको प्रतिआना ३८ लाख रुपैयाँ तिर्नुपर्ने भनिएको छ । नत्र जग्गा नै फुकुवा नहुने अवस्था आयो ।’

सरस्वतीनगरकै ४६ वर्षीय उदयकुमार थापाको परिवारको पनि विमानस्थलकै धावनमार्ग विस्तारका क्रममा सात रोपनी जग्गा परेको थियो । त्यसैको मुआब्जा बुझेर परिवारले सरस्वतीनगरमा चार आना जग्गा किन्यो । काँचो इँटा जोडेर घर बनायो । जीवन दुःखजिलो चल्दै थियो, व्यवस्थित सहरको मोहजालमा उनी पनि फसे । १७ वर्षदेखि उनको जग्गा रोक्का छ । यस अवधिमा उनले न जग्गा बैंकमा राखेर ऋण निकाल्न सकेका छन्, न उक्त जग्गामा नयाँ घर नै बनाउन सकेका छन् । सहरीकरणका नाममा आयोजनाले थप रकम माग गरेपछि उनी रनाहामा परेका छन् । 

‘व्यवस्थित सहर बनाउने प्रलोभनमा आयोजनाले १७ वर्षदेखि जग्गा रोक्का गरेर राखेको छ । जग्गामा न घर बनाउन पायौँ, न बैंकबाट ऋण नै निकाल्न पायौँ । सहरीकरणका नाममा आयोजनाले प्रतिआना १३ लाखदेखि १८ लाख रुपैयाँ माग गरेको छ । आफ्नै जग्गा उपभोग गर्न यति ठूलो रकम आयोजनालाई कहाँबाट ल्याएर दिनू ? हामी त यहाँबाट उठीवास हुने अवस्था आएको छ,’ थापाले गुनासो गरे ।

पेप्सीकोलादेखि जडीबुटीसम्मको जग्गामा ‘ल्यान्ड पुलिङ’मार्फत व्यवस्थित सहर बनाउन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो । महानगरपालिकाको बोर्ड बैठकले ३२ साउन ०५९ मा र तत्कालीन काठमाडौं नगर विकास समितिले २६ चैत ०५९ मा डिपिआर पास पनि गर्‍यो । तत्कालीन सरकारले १८ माघ ०६३ मा उक्त डिपिआर स्वीकृत गर्‍यो । प्रस्तावित क्षेत्रमा तीन वर्षभित्र ‘ल्यान्ड पुलिङ’ गरिसक्ने र जग्गा सम्बन्धित धनीलाई तत्काल फिर्ता गर्ने निर्णय पनि भयो । 

आयोजनाले प्रस्तावित क्षेत्रमा ‘ल्यान्ड पुलिङ’ त गर्‍यो । तर, भौतिक पूर्वाधारका नाममा सिन्को पनि भाँच्न सकेन । जसको प्रत्यक्ष मारमा परेका छन् प्रस्तावित क्षेत्रका पराजुली र थापाजस्तै एक सय ९७ घरपरिवार । उनीहरूमध्येका ५६ वर्षीय दीपेन्द्रकुमार थापाले भने, ‘जग्गाको लालपुर्जा छ । घरको पनि नक्सा छ । तर, दुवै १७ वर्षदेखि रोक्का छ । त्यसो हुँदा निजी सम्पत्ति न बेच्न मिलेको छ, न उपभोग गर्न नै । आयोजनाले अहिले उल्टै प्रतिआना ९८ लाख रुपैयाँ मागेको छ । यति ठूलो रकम कहाँबाट ल्याएर दिने ?’

आयोजनाले १७ वर्षअघि ‘ल्यान्ड पुलिङ’ गर्दा जग्गामा फराकिलो सडक, ढल, बिजुली, खानेपानी, टेलिफोनलगायत पूर्वाधार निर्माण गर्ने भनेको थियो । जसका लागि जग्गाधनीसँग प्रतिआना १० हजार रुपैयाँ उठाउने भनेको थियो । स्थानीयले पनि आयोजनाको उक्त प्रस्ताव स्वीकार गरेका थिए । तर, आयोजनाले यस अवधिमा प्रस्तावित क्षेत्रमा कबुलनामाअनुसारको भौतिक पूर्वाधारका कुनै कार्य गरेन । 

स्थानीयले कबुलनामाअनुसार भौतिक पूर्वाधार निर्माण गर्न पटक–पटक दबाब दिए, आन्दोलन गरे, तर केही सीप चलेन । अहिले आयोजनाले १७ वर्षअघि सोही डिपिआरअनुसार प्रस्तावित क्षेत्रमा फराकिलो सडक, ढल, बिजुली, खानेपानी, टेलिफोनलगायत पूर्वाधार निर्माण गर्ने भनेको छ । यसबापत स्थानीयसँग प्रतिआना न्यूनतम १३ लाखदेखि ९८ लाख रुपैयाँ लिने र जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने भन्दै आएको छ । तर, स्थानीय यसमा सहमत छैनन् । 

पीडितमध्येका ४२ वर्षीय दिनेश कोइरालाले भने, ‘प्रस्तावित क्षेत्रमा भौतिक पूर्वाधार निर्माण आयोजनाकै कारण ढिलो भयो । यस अवधिमा उल्टो जग्गा रोक्का राखियो । तर, मूल्यवृद्धिको बहानामा आयोजनाले अहिले हामीसँग प्रतिआना १३ देखि ९८ लाख रुपैयाँ मागिरहेको छ । यो घोर अन्याय भएन र ?’

मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालले आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीय मारमा परेको स्वीकार गरे । उनले भने, ‘आयोजना पहिले नै बनिसक्नुपथ्र्यो । विविध कारणले बन्न सकेन । यसका नालीबेली लामा छन् । यद्यपि, स्थानीयको जग्गा रोक्का छ । स्थानीयले सास्ती भोग्नुपरेको सत्य हो । अब प्रतिआना १३ लाखदेखि ९८ लाख रुपैयाँ तिर्नुपर्ने हामीले भनेकै हौँ । तर, बैंकबाट ऋण लिन हामीले रोकेका छैनौँ ।’

सुझावित समाचार