नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्दाको उत्साह र शक्ति पार्टीमा नरहेको बताएका छन्। पार्टीले सही नीति ल्याउन नसक्दा कार्यकर्ता दिशाहीन भएका उनको धारणा छ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा खनालले पेस गरेको दस्ताबेजमा पछिल्लो समय पार्टी खुम्चिँदै गएको उल्लेख गरिएको छ। ‘विद्रोह गर्दा हामीसँग जस्तो संसदीय दल र शक्ति थियो, संघ र प्रदेश दुवैमा आज त्यस्तो छैन,’ दस्ताबेजमा भनिएको छ।
एमाले र आफूहरूबीचको सैद्धान्तिक र नीतिगत भिन्नता देखाउन नसक्दा नेता–कार्यकर्ताहरू एमालेमै फर्किने क्रम देखिएको पनि खनालले दस्ताबेजमा औँल्याएका छन्।
‘हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी एमालेका सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन। हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबजकै धङधङी छ,’ उनले भनेका छन्, ‘त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक र सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ।’