धनगढीमा वडा स्वास्थ्य क्लिनिकबाट एक वर्षमा साढे ४५ हजारले लिए नि:शुल्क उपचार सेवा

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाले हरेक वडामा मासिक रूपमा सञ्चालन गर्दै आएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एक वर्षको अवधिमा साढे ४५ हजारजनाभन्दा बढीले उपचार सेवा लिएका छन् । उपमहानगरको तथ्यांकअनुसार वडा क्लिनिकबाट सेवा लिनेमध्ये अधिकांश महिला छन् ।

गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा वडा क्लिनिकबाट ३५ हजार ६१९ महिलासहित ४५ हजार ६८९ जनाले उपचार सेवा लिएका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्णबहादुर बोहराले जानकारी दिए । उनका अनुसार आठ हजार १६६ जनाले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । क्लिनिकमा उपचार सेवा लिनेमध्ये पाँच हजार ४३७ जना ७० वर्ष उमेर माथिका रहेका उपमहानगरले जनाएको छ ।

आर्थिक अभावले उपचार गराउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै नि:शुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले उपमहानगरले गत वर्षबाट विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको हो । नगरका १९ वटै वडामा हरेक महिनाको एक दिन स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ । क्लिनिकमा आँखा, दाँत, हाडजोर्नी, फिजिसियन तथा स्त्री रोगसम्बन्धी सेवा नि:शुल्क दिने गरिएको छ । 

त्यस्तै इसिजी, सुगर, पिसाब, रगतलगायत विभिन्न प्रयोगशाला जाँच नि:शुल्क गरिन्छ । गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्डको सुविधा पनि क्लिनिकमा उपलब्ध हुन्छ । एक वर्षमा क्लिनिकबाट चार हजार ६९९ गर्भवतीले सेवा लिएकोमा तीन हजार ८९ जनाले अल्ट्रासाउन्ड सेवा लिएका उपमहानगरले जनाएको छ । उक्त अवधिमा क्लिनिकमा जाँच गर्न आएका पाँच हजार दुई सय ७१ जनालाई नि:शुल्क प्रयोगशाला जाँचको सुविधा दिइएको बोहराले जानकारी दिए ।

वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरले एकजना फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ गरी दुईजना विशेषज्ञ डाक्टर नियुक्त गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वडा क्लिनिकका लागि गत वर्ष अल्ट्रासाउन्ड, इसिजीलगायत उपकरण दिएको छ । धनगढीका निजी तथा सामुदायिक अस्पतालहरूसँगको सहकार्यमा क्लिनिकबाट हाडजोर्नी, आँखा, दाँतसम्बन्धी रोगलगायत सेवा दिने गरिएको छ । 

उपमहानगरको आग्रहमा केही निजी र सामुदायिक अस्पतालले हाडजोर्नी, आँखा र दन्तरोगसम्बन्धी चिकित्सक वडा क्लिनिकमा खटाइदिने गरेको क्लिनिक संयोजक बोहराले बताए । १९ वटा वडामा महिनामा १९ दिन सञ्चालन हुने क्लिनिकमा सेवा लिनेको संख्या उपमहानगरले सोही दिन सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्दै आएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले एक वर्षमा विशेषज्ञ वडा क्लिनिकले नागरिकलाई दिएको सेवाबाट आफू उत्साहित भएको बताए । सवा दुई लाख जनसंख्या भएको ठाउँमा ४५ हजारले सेवा पाउनु ठूलो विषय भएको उनको भनाइ छ । ‘निजी अस्पतालमा उपचार गराउन नसक्ने र सरकारी अस्पतालमै पनि आउन नसक्ने विपन्नलाई लक्षित गरेर वडा क्लिनिक सुरु गरेका थियौँ,’ उनले भने, ‘यसले नागरिकलाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुगेको छ ।’ 

निजी अस्पतालहरूसँगको सहकार्यमा वडा क्लिनिकमा विशेषज्ञ सेवा थप गर्दै लगेको उनले बताए । प्रयोगशाला परीक्षणका लागि केही उपकरण थप गर्न लागिएको हमालले जानकारी दिए । स्थानीय तहको चुनावका वेला नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका हमालले नगरप्रमुखमा निर्वाचित भएको दुई महिनामै वडा स्वास्थ्य क्लिनिक सुरु गरेका थिए ।

विपन्नले कुखुरा, बाख्रा बेचेर पनि उपचार नपाउने अवस्था अन्त्य गर्न खोजिएको हमालले बताए । मेयरले चढ्ने सरकारी गाडी क्लिनिकका लागि हस्तान्तरण गरेका उनी आफ्नो निजी गाडी प्रयोग गर्दै आएका छन् । वडा क्लिनिकलाई निरन्तरता दिएर आवश्यकताअनुसार जनशक्ति र उपकरण थप्दै लैजाने नगरप्रमुख हमालले बताए । 
 

See More On

सुझावित समाचार