लमजुङमा तीनवटा मोटरेबल पुल निर्माण

शनिबार, २० साउन, २०८०
डिजिटल संस्करण

लमजुङमा गत आर्थिक वर्षमा तीनवटा मोटरेबल पुल निर्माण गरिएको छ। पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकामा मिदिम खोला मोटरेबल पुल, दूधपोखरीको कुँयाले खोला मोटरेबल पुल र लाङ्दी खोला मोटरेबल पुल गत आर्थिक वर्षमा सम्पन्न भएका हुन्।

निर्माण सम्पन्न मोटरेबल पुलमध्ये दूधपोखरीको कुँयाले खोला मोटरेबल पुल २०७९ मसिर २९ गते निर्माण सम्पन्न भएको हो। उक्त पुल दुई करोड १९ लाख रुपैयाँमा सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरिले बताए।

त्यसैगरी, सोही मितिमा सम्झौता भएको लाङ्दी खोला मोटरेबल पुल ०८० असार ७ गते निर्माण सम्पन्न भएको हो। उक्त मोटरेबल पुल  निर्माणमा तीन करोड ६९ लाख रुपैयाँ खर्च भएको छ।

त्यसैगरी, ०७६ पुस १८ गते निर्माण सम्झौता भएको मिदिम खोला मोटरेबल पुल गत वर्षको असार महिना निर्माण सम्पन्न भएको हो। उक्त पुलमा सात करोड ५५ लाख रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

जिल्लामा क्रमागत योजनाअन्तर्गत निर्माण सुरु भएका आठवटा मोटरेबल पुलमध्ये अघिल्लो आर्थिक वर्षमा पाँचवटा सम्पन्न भएका थिए।
 

सुझावित समाचार