प्रतिनिधिलाई १८ बुँदे कार्यविधि, भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउने डेटलाइन
– १० देखि २४ भदौसम्म दोस्रो चरणमा समुदायमा कांग्रेस अभियान
– सात लाखसम्म सदस्यता थप्ने र संगठनलाई पूर्णता दिएर चलायमान बनाउनेलगायत उद्देश्य
कांग्रेसले आजबाट संगठन विस्तार र सुदृढीकरण अभियान सुरु गर्दै छ । पाँचदेखि सात लाखसम्म सदस्यता थप्ने र संगठन चलायमान बनाउनेलगायत महत्वाकांक्षी योजनासहित कांग्रेसले अभियान सुरु गर्न लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रबाट सबै तयारी पूरा भएको छ । ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । अभियान देशभर एकसाथ सुरु हुने उनले जानकारी दिए । ‘सबै तयारी पूरा गरेका छौँ । केन्द्रीय समितिको निर्णय र उद्देश्यअनुसार शनिबार देशभर अभियानको सुरुवात हुन्छ । सबै जिल्लामा केन्द्रका प्रतिनिधि पुगिसक्नुभएको छ । पहिलो चरणमा २० देखि ३० साउन आन्तरिक र दोस्रो चरणमा १० देखि २४ भदौसम्म ‘समुदायमा कांग्रेस’ राष्ट्रव्यापी अभियान सञ्चालन हुनेछ,’ पौडेलले नयाँ पत्रिकासँग भने ।
अभियानअन्तर्गत सदस्यता वितरण नवीकरण र अभिलेख व्यवस्थापन, पूर्णता पाउन बाँकी पार्टी र भ्रातृ संस्थाका निकाय र समितिलाई पूर्णता दिने, सम्मेलनहरू सम्पन्न गराउने, पार्टी संगठनलाई परिचालन र चलायमान बनाउने, कांग्रेसको विचार र दृष्टिकोणको प्रचार गर्ने, जनप्रतिनिधि र पार्टीका निकायबीच समन्वयको सहजीकरण गर्ने, असन्तुष्ट नेता–कार्यकर्ता र बुद्धिजीवीसँग संवाद गरेर पार्टीको पक्षमा माहोल तयार गर्ने योजना छन् । कांग्रेसले प्रतिनिधिलाई वडा र टोलसम्मका कार्यक्रममा अनिवार्य सहभागिताको निर्देशन दिएको छ । पहिलो चरणको रिपोर्टिङ भदौ पहिलो साताभित्र गर्न कांग्रेसको अनिवार्य निर्देशन छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले दिएको कार्यविधिमा जिल्ला पुग्नुअघि नै समन्वय गरेर कार्यक्रम तय गर्न र जिल्लामा पुगेर पार्टीका सबै निकायलाई परिचालन गरेर अभियान पूरा गर्न निर्देशन दिइएको छ । कार्यविधिमा २१ र २२ असारमा जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयनलगायत विषय उल्लेख छन् । अभियानका लागि केन्द्रबाट सबै जिल्ला र सात सय ५३ वटै पालिकामा प्रतिनिधि खटाइएकोे छ । अभियानका लागि कांग्रेसले सहमहामन्त्री, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यलाई खटाएको छ ।
कांग्रेसले २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले पहिलो चरणमा २० देखि ३० साउन आन्तरिक र दोस्रो चरणमा १० देखि २४ भदौमा समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो । कांग्रेसले साउनदेखि आगामी असार मसान्तसम्मको एकवर्षे अवधिलाई ‘घरघर जाऔँ पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान घोषणा गरेको छ ।
जसमा पाँचदेखि सात लाखसम्म सदस्यता थप्ने योजना छ । सँगसँगै साथै संगठनलाई सुदृढ बनाउने कांग्रेसको योजना छ । कार्यतालिकाअनुसार तेस्रो चरणको कार्यक्रम १५ मंसिरदेखि १५ माघसम्म तेस्रो चरणको कार्यक्रम लागू हुनेछ । तेस्रो चरणको कार्यतालिकामा भने आवश्यकता हेरेर परिवर्तन हुन सक्ने कांग्रेसको भनाइ छ ।