थुना पठाउने आदेश सुनेपछि अदालतमै ढले व्यवसायी रुंगटा

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनेलगत्तै व्यवसायी प्रदीप रुंगटा अदालतमै बेहोस भएका छन्। 

व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेका व्यवसायी रुंगटालाई आज जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

किटानी जाहेरीपछि फरार रहेका रुंगटा प्रहरीलाई प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो । उनी तीन महिनापछि आज आफैँ अदालतमा हाजिर भएका थिए। 

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीका अनुसार उनी आज नै भारतबाट अदालत आएका हुन्। अदालतमा थुनथेक बहसपछि न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुंगटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेशलगत्तै उनी बेहोस भएका हुन्। अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

गत १९ वैशाखमा कँडेलले नारायणगढस्थित आफ्नै कार्यालयमा आत्महत्या गरेका थिए। आत्महत्याअघि कँडेलले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको थियो। ‘सुसाइड नोट’मा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका रुंगटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए। 

अर्का आरोपित अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल केही दिनअघि उच्च अदालत हेटौँडाको आदेशमा तारेखमा रिहा भएका छन्। उनी २२ वैशाखमा बाराको सिमराबाट पक्राउ परेका थिए। नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए।

सुझावित समाचार