सैन्य क्षेत्रमा आउँदै आमूल परिवर्तन

एआई क्रान्तिले मानिसलाई सैन्य क्षेत्रमा औचित्यहीन बनाइरहेको छ, मेसिनहरू सेना बनिरहेका छन्

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

कृत्रिम बौद्धिकताको (एआई) तीव्र विकासले कामको परम्परागत धारणालाई मात्र धक्का दिएको छैन, मानव पहिचानको सारतत्वलाई समेत परिवर्तन गरिरहेको छ । अघिल्ला प्रविधिक विकासले मानव व्यवहार र अवस्थालाई परिवर्तन गरेका थिए, एआईले चाहिँ राज्यको प्रकृति र भूमिकाका साथै व्यक्तिको मूलभूत सामाजिक एवं राजनीतिक विश्वासलाई समेत आधारभूत रूपले नै नयाँ आकार दिँदै छ ।

उन्नाइसौँ शताब्दीको औद्योगिक क्रान्तिमा यन्त्रशक्तिले मानव एवं पशुशक्तिलाई प्रतिस्थापन गर्यो र यान्त्रिक शक्ति भौतिक पूर्वाधार, औद्योगिक तथा उपभोग्य वस्तुहरूको उत्पादनमा प्रयोग हुन थाल्यो । बीसौँ शताब्दीमा औद्योगिक क्रान्ति परिपक्व हुँदै जाँदा कडा शारीरिक श्रम एकाध पेसा वा व्यवसायमा मात्रै सीमित हुन पुग्यो । पूर्व–औद्योगिक युगका कामको झल्को पाउन अहिले छाना लगाउने कामलाई हेर्न सकिन्छ । यो काममा आज पनि कडा शारीरिक मिहिनेतसहित विभिन्न आसनमा बसेर थकित हुने गरी श्रम गर्नुपर्छ । एक्काइसौँ शताब्दीमा श्रमप्रधान कामको अनुभव यस्तै एकाध पेसाले मात्र देखिन्छ । 

बीसौँ शताब्दीको सुरुवातका अटोमोबाइलका कामदारहरू मरिमरी आफ्ना औजार चलाइरहेका हुन्थे । ती गह्रौँ वस्तु उचाल्थे र ठूलो बलको प्रयोग गर्थे । एक्काइसौँ शताब्दीका तिनका समकक्षीचाहिँ मोनिटरहरूमा हेर्दै भारी शारीरिक कार्य सम्हाल्ने रोबोट सञ्चालन गर्छन् । पसिना(श्रम) प्रधान अर्थव्यवस्था लोप हुँदै जाँदा श्रमको महत्व घट्दै गएर श्रमजीवीहरू कमजोर बन्दै गएका छन्, तर साथमा स्वस्थ पनि भएका छन् । शारीरिक शक्तिलाई कायम राख्न चाहनेहरू अहिले जिम जान्छन् । 

यस सूचना–प्रविधि क्रान्तिले मानव विकासको अर्को खुड्किलोको प्रतिनिधित्व गर्छ । सीपयुक्त अथवा अधिक संज्ञानात्मक कार्य मेसिनले लिँदै गर्दा कम्प्युटरले शारीरिक काम गरिरहेका रोबोटको निगरानी गर्छन् । मानसिक श्रमको पनि उन्मूलन हुँदै गएको छ । धेरै मानिसले कामबारे सोच्नै छाडेका छन् र त्यो ऊर्जा क्रसवर्ड पजल, सुडोकु वा वर्डलमा समर्पित गरेका छन् । 

फ्रान्सेली क्रान्तिपछि विश्वभरका सेनामा आमजनताको सहभागिता बढेसँगै युद्ध र राजनीति दुवैको लोकतान्त्रीकरण भयो । तर, अहिले प्रविधिको माध्यमबाट युद्ध लडिरहँदा सत्ता फेरि आमजनताबाट टाढिँदै गएको छ ।

आगामी एआई क्रान्ति धेरै अघि बढ्नेछ, किनकि यसले सामूहिक गतिविधिको अवधारणालाई नै प्रभावित बनाउँदै छ । यो विकासक्रम सम्भवतः सैन्य क्षेत्रमा अधिक प्रकट हुनेछ, तर यसले राजनीतिक सहभागिता र वैध अधिकारबारे हाम्रो बुझाइलाई पनि प्रभावित पार्नेछ । बीसौँ शताब्दीमा मानव इतिहासका सबैभन्दा विनाशकारी युद्धहरू भए । यही सदीमा विश्वमा लोकतान्त्रीकरणको नयाँ लहर पनि उत्पन्न भयो । सैनिक र तिनका परिवारले आफ्नो बलिदानको पुरस्कार पाउनुपर्ने हँुदा दुवै विश्वयुद्धले मताधिकारको विस्तार गर्यो । 

शास्त्रीय राजनीतिक उदारवादले जनताको सरोकारको विषयमा ऊबाट बलिदानको अपेक्षा गर्छ । तर, प्रविधिले यो प्रक्रियालाई बिथोल्न खोजेको छ । रुसलाई नै लिऔँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध गर्न अर्ध–स्वायत्त भाडाका समूह, ग्रामीण जनता र अझ कैदीहरूमा निर्भर देखिएका छन् । किनकि उनलाई थाहा छ, मस्को र सेन्ट पिटर्सबर्गको शहरी जनसंख्या शारीरिक रूपमा र अझ मनोवैज्ञानिक रूपमा यस कार्यका लागि अनुपयुक्त छ ।

निःसन्देह, यो नयाँ समस्या होइन । आधुनिक औद्योगिक जीवनशैलीका कारण धेरैजसो मानिस शारीरिक तवरमा सैन्यसेवाका लागि अयोग्य भएको हुँदा प्रथम विश्वयुद्धअघि युरोपका ठूला मुलुकका सैन्य अधिकारी ठूलो संख्यामा सेनाको जोहो कसरी गर्ने भनेर चिन्तित हुन्थे । आज पनि सैन्य योजनाकार त्यही चिन्तामा छन् । पेन्टागनले सन् २०१७ मा १७ देखि २४ वर्ष उमेर समूहका ७१ प्रतिशत युवा अमेरिकाको सैन्यसेवाका लागि अयोग्य रहेको अनुमान गरेको थियो । अहिले यो हिस्सा बढेर ७७ प्रतिशत पुगेको छ । तर, अहिले यस्ता प्रविधि छन्, जुन पहिलेका पुस्ताले कल्पना पनि गर्न सक्थेनन् । युद्धमा स्वचालित ड्रोनजस्ता मानवरहित उपकरणको प्रधानता बढेको छ, पहिले औद्योगिक र कार्यालयका काममा मेसिनको प्रधानता रहेझैँ ।

युद्धको स्वचालितीकरणको राजनीतिक परिणाम बुझ्न, अहिले समग्र समाज कसरी परिवर्तन भएको छ भन्ने कुरा हेर्नुपर्छ । मध्ययुगीन समाजमा मानिसलाई सामान्यतया तीन समूहमा विभाजित गरिन्थ्यो– प्रार्थना गर्नेहरू, युद्ध गर्नेहरू र काम गर्नेहरू । जसले प्रवचन दिन्थे वा प्रार्थना गर्थे ती पादरीवर्ग, जो लड्थे (अभिजात वर्ग) र बाँकी, जसले वास्तवमा शारिरिक श्रमको रूपमा साँच्चै केही काम गर्थे ।

युद्ध क्षमता भएका अभिजात वर्गले राजनीतिक शक्तिको दाबी गर्थे । तर, जब लडाइँ तिनको मात्र विशेषाधिकार क्षेत्र रहेन, शासनमाथिको तिनको एकल वैधता अत्तरको सुगन्धझैँ गायब भयो । फ्रान्सेली क्रान्तिपछि गठन भएका सेनामा आमजनताको सहभागिताले युद्ध र राजनीति दुवैको लोकतान्त्रीकरण गर्यो । तर, अहिले प्रविधिको माध्यमबाट युद्ध लडिरहँदा सत्ता फेरि आमजनताबाट टाढिँदै गएको छ ।

बाँकी रहेका सामाजिक समूहको के हुनेछ ? जसरी औद्योगिक क्रान्तिले शारीरिक श्रमको आवश्यकतालाई कम ग¥यो, त्यसरी नै एआई क्रान्तिले मानिसलाई सैन्य क्षेत्रमा औचित्यहिन बनाइरहेको छ । अहिले मेसिनहरू सेना बनिरहेका छन् । यसले प्रवचन दिने वा प्रार्थना गर्ने (पादरी) वा धर्मगुरुहरूलाई भने अझै छोइसकेको छैन ।

उनीहरूलाई अझै पनि विशिष्ट मानवीय कार्यलाई निरन्तरता दिने जिम्मेवारी छ । के ती पनि प्रविधिको हातबाट प्रायोजनहिन हुने र अन्ततः अस्तित्वकै संकटमा पर्लान् त ? एकदमै डराएर, केही आलोचक र प्रविधि नेताहरू एआई विकासमा ‘विराम लगाउन’ आह्वान गरिरहेका छन् । तर, प्रविधि कहिल्यै रोकिने गरेको छैन, किनभने केही उत्सुक मानिस सधैँ नै यिनको विकासमा तल्लीन रहन्छन् । 
– प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार