प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन्।
आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई संगठनमा रूपान्तरणमा गर्नुपर्ने बताए।
‘अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ,’ उनले भने।
केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकताअनुसार अगाडि बढ्न सहज वातावरण बनाउने उनको विश्वास छ।
अध्यक्ष प्रचण्डले देशको राजनीतिमा देखापरेका विभिन्न विचार र प्रवृत्तिबारे र पार्टीभित्रकै विगतका स्थितिका सिंहावलोकन र समीक्षा गर्दै आउने दिनमा नतिजामुखी काममा केन्द्रित हुन आवश्यक रहेको औँल्याए।
देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताउँदै उनले नेता–कार्यकर्ताको संख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएकोप्रति सचेत गराए।
उनले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासित रूपले बहस तथा छलफल गरी यस बैठकलाई पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिए।
सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताए।
पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रक्रिया देखापरेको उल्लेख गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशमा त्यसको प्रभाव परिरहेको बताए।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।