नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भएको छ । भेटमा आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवद्र्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत्लगायतका पूर्वाधार विकास एवं लगानी प्रवद्र्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए । कोभिडपछि अर्थतन्त्रको सही विस्तार र व्यवस्थापन गर्न नसक्दा अहिले अर्थतन्त्रमा समस्या परेको र निजी क्षेत्र संकुचित हुँदा सरकार तथा सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले जानकारी गराए । निजी क्षेत्रले काम गर्न नपाउँदा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घट्दै गएको उनको भनाइ थियो ।
नेपालको तीनदिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्न तयार रहेको बताइन् । पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो । उनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धनलगायतका विषयको नेतृत्व गर्छिन् ।