काठमाडौंको मुहार फेर्ने ३५ योजना : तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य, पाँच अर्ब ८० करोड विनियोजन

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरले आगामी तीन वर्षभित्र सक्ने गरी ३५ ठूला योजनाका लागि चालू आर्थिक वर्ष ०८०/८१ मा पाँच अर्ब ८० करोड रकम छुट्याएको छ । तीमध्ये महानगरले १० वटालाई गौरवका र २५ वटालाई स्वर्णिम योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । 

आमनागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार निर्माणलगायत गौरवका योजनाअन्तर्गत छन् भने आमनागरिकको प्रत्यक्ष चासोमा रहेका एवं निरन्तर सञ्चालन हुने कार्यमा स्वर्णिम योजनाहरू रहेको महानगरले जनाएको छ ।

गौरवका योजनाका लागि तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ । महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार कतिपय योजना मर्मत गरे मात्र पुग्ने खालका छन् । कतिपय योजनालाई निरन्तर चलाउनुपर्छ । यी योजनाहरू १३औँ नगरसभाको अधिवेशनमा विनियोजन विधेयकमा पेस भएका हुन् । 

२५ स्वर्णिम योजना 

- सुन्दर विद्यालय परियोजना : विद्यालयलाई कलात्मक, सुन्दर र हरियाली प्रवर्द्धन गर्ने गरी पाँच करोड विनियोजन । 

- स्वच्छ भान्सा कार्यक्रम : खानेकुराबाटै निदानात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवाका लागि तीन करोड ५० लाख विनियोजन ।

- खेलकुद पूर्वाधार परियोजना : खुला चौर, गौचरनलगायत स्थानको पूर्वाधार सुधार गर्न आठ करोड विनियोजन ।

- एग्रो पुलिङ परियोजना : महानगरवासीलाई स्वस्थ, स्वच्छ तथा गुणस्तरीय खाद्यान्न, तरकारी र फलफूल उपयोग गर्न सघाउने गरी कार्यक्रम गर्न एक करोड विनियोजन ।

- पूर्वाधार एम्बुलेन्स : पूर्वाधारमा देखिएका समस्या तत्काल मर्मत–सम्भार गर्न २५ करोड विनियोजन । 

- एकल सेवा केन्द्र : प्रशासन विभागबाट कार्यान्वयन हुने एकल सेवा केन्द्रका लागि चार करोड विनियोजन ।

- श्रम बैंक : रोजगारी प्रदान कार्यक्रम सञ्चालनका लागि दुई करोड ५० लाख विनियोजन । 

- न्याय चौतारी : सहजकर्तामार्फत न्यायमा पहुँच वृद्धि गर्ने कार्यक्रम सञ्चालनका लागि एक करोड विनियोजन । 

- पिउने पानी तथा सार्वजनिक शौचालय : चार करोड विनियोजित योजनाअन्तर्गत सार्वजनिक स्थानमा शौचालय र पिउने पानी । 

- इरेन्टल : घरबहाल व्यवस्थापनका लागि इन्टरनेटमा आधारित प्रणाली बनाउने दुई करोड विनियोजन गरिएको छ । 

- सुलभ फार्मेसी : सुपथ र सहज ढंगबाट औषधि बिक्री–वितरण गर्ने गरी सुलभ फार्मेसी सञ्चालन गर्न ६ करोड विनियोजन गरिएको छ ।  

- यातायात तथा ट्राफिक : यातायात प्रणालीलाई प्रभावकारी रूपमा व्यवस्थापन गरेर सडक सुरक्षाको प्रत्याभूति गराउन २० करोड विनियोजन । 

- नदी सफाइ : सात करोड विनियोजन गरिएको यो कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने नदी र खोलालाई नियमित र प्रभावकारी रूपमा सरसफाइ गर्ने योजना छ । 

- डुबान समाधान : चार करोड विनियोजन योजनाअन्तर्गत ढल प्रणालीको नियमित र प्रभावकारी सरसफाइ गरेर सतह पानीको प्रवाहलाई नियमित गरेर डुबान समस्या समाधान गरिनेछ । 

- ढुंगेधारा, हिटी र पोखरी संरक्षण : ढुंगेधारा, हिटी र पोखरीहरूको नियमित सरसफाइ गरेर जीवन्त बनाउन तीन करोड विनियोजन । 

- आरोग्य जीवन : नागरिकको शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउन योग र ध्यानजस्ता क्रियाकलाप, आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्द्धन गर्न तीन करोड विनियोजन ।

- मेट्रो मार्ट : दैनिक उपभोग्य वस्तुबारे अनलाइन प्रणालीमार्फत जानकारी दिने, उपभोक्ताका घरमा खाद्यान्न तथा तरकारी पठाउने प्रणालीका लागि सहजीकरण गर्ने गरी कार्यक्रम गर्न एक करोड विनियोजन ।

- साथी महानगर : सेवाग्राही र महानगरवासीबीच आत्मीय सम्बन्ध स्थापना गर्ने कार्यक्रमका लागि दुई करोड विनियोजन ।

- स्मार्ट टोल : टोल विकास समितिहरूको पुनस्र्थापना गरेर उनीहरूमार्फत तोकिएबमोजिमका स्मार्ट टोल निर्माण गर्ने क्रियाकलाप सञ्चालन गर्न ३५ करोड विनियोजन । 

- सांस्कृतिक सहर : तीन करोड विनियोजन गरिएको यो योजनाअन्तर्गत महानगरभित्रका मूर्त–अमूर्त सांस्कृतिक सम्पदालाई उजागर गर्ने, पुनर्ताजगी गरिनेछ । 

- पर्यटकीय सहर : पर्यटकका लागि आवश्यक र उपयोगी सूचना दिन सक्ने एप्लिकेसन निर्माण गर्ने, होम स्टेमार्फत मौलिक कला, संस्कृतिको प्रवर्द्धन गने दुई करोड । 

- सम्पदा मर्मत तथा संरक्षण कार्य : सबै सम्पदा क्षेत्रको नियमित मर्मत–सम्भार र सुन्दरताका लागि २३ करोड विनियोजन ।

- अनुसन्धान तथा अन्वेषण केन्द्र : महानगरको आर्थिक, सामाजिक तथा भौतिक समृद्धि र पहिचानका लागि सम्भावनाका क्षेत्रहरूको अध्ययन–अनुसन्धान गर्ने योजनाअन्तर्गत पाँच करोड विनियोजन । 

- सबैको योजना, सबैको विकास : विकास अभियानमा आबद्ध हुन चाहने सामाजिक संघ–संस्थाहरूको सहलगानीमा गतिविधि सञ्चालन गर्ने गरी पाँच करोड विनियोजन ।

- सुन्दर महानगर : यस योजनाका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक, सडकपेटी, पर्खाल, कार्यालय, पार्कलगायत सार्वजनिक ठाउँहरूको सुन्दरता बढाउने क्रियाकलाप सञ्चालन गरिनेछन् ।

सुझावित समाचार