युरोपमा भाग्य चम्काउन गइन् सावित्रा

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

युरोपियन फुटबल लिगको अनुभव बटुल्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार इजरायल प्रस्थान गरेकी छिन् । नेपालको फुटबल इतिहासमा उनी युरोपियन लिग खेल्ने पहिलो खेलाडी हुन् ।

इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा उनी एक सिजनका लागि अनुबन्ध भएकी छिन् । इजरायल एसियाली राष्ट्र हो । तर, इजरायलले फुटबलको अबद्धता भने युरोपियन फुटबल महासंघबाट लिएको छ । यसै कारण इजरायलले युरोपियन लिग खेलिरहेको हो । सावित्रा इजरायलको होपायल रानानामा आबद्ध छिन् । 

नेपालकै एक नम्बर महिला स्ट्राइकर सावित्राले राष्ट्रिय टोलीबाट ४५ खेलमा सर्वाधिक ४४ गोल गरेकी छिन् । घरेलु फुटबलमा उनी विभागीय टोली एपिएफसँग आबद्ध छिन् । गत वर्ष उनले भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

भारतीय लिगमा उनले तीन सिजन बिताइसकेकी छिन् । यसक्रममा उनले गत सिजन गोकुलम केरला एफसीलाई उपाधि दिलाउन सर्वाधिक २९ गोल गरेकी थिइन् । गोकुलमबाट उनले गत सिजन केवल १० खेल मात्र खेलेकी थिइन् । सावित्राले पहिलोपटक विदेशी लिग माल्दिभ्समा खेलेकी थिइन् ।

सुझावित समाचार