पेट्रोलियमको मूल्य बढ्ने सूचनापछि व्यवसायीले एकैपटक उठाए धेरै तेल

निगमका चार डिपोबाट मात्रै सामान्य अवस्थाभन्दा झन्डै आठ सय किलोलिटर बढी पेट्रोल–डिजेल खरिद

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित थियो । नयाँ मूल्य बढेर आउने पम्प व्यवसायीहरूले जानकारी पाएसँगै बिहानैदेखि निगमका चार डिपोबाट मात्रै सामान्य अवस्थाभन्दा झण्डै आठ सय किलोलिटर बढी पेट्रोल–डिजेल उठाएका छन् । निगमका डिपो प्रमुखहरूले धेरै तेल वितरण नगर्न कडाइ गरे पनि अन्य दिनको तुलनामा मंगलबार केही बढी पेट्रोल–डिजेल बिक्री भएको छ ।

कोसी प्रदेशका पम्प व्यवसायीले तुलनात्मक रूपमा धेरै तेल उठाएर लाभ लिएका छन् । कोसीमा इन्धन वितरण गर्ने निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयका प्रमुख पूर्णप्रसाद रिजालका अनुसार सोमबार आठ सय ५६ किलोलिटर पेट्रोल र डिजेल बिक्री भएकोमा मंगलबार ११ सय ५२ किलोलिटर बिक्री भएको छ ।

त्यस्तै, निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा)बाट पनि व्यवसायीले सोमबारको तुलनामा तीन सय ८४ किलोलिटर धेरै तेल उठाएका छन् । सो कार्यालयका अनुसार मंगलबार १६ सय ८८ किलोलिटर (पेट्रोल तीन सय ९२ किलोलिटर र डिजेल १२ सय ९६ किलोलिटर) बिक्री भएको थियो भने सोमबार १३ सय चार किलोलिटर (पेट्रोल दुई सय ७९ किलोलिटर र डिजेल एक हजार २५ किलोलिटर) बिक्री भएको थियो ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुख जगदीशचन्द्र यादवका अनुसार सोमबारको तुलनामा मंगलबार एक सय आठ किलोलिटर इन्धन बढी बिक्री भएको छ । मंगलबार पेट्रोल दुई सय १७ र डिजेल ६ सय २३ किलोलिटर गरी कुल आठ सय ४० किलोलिटर बिक्री भएको उनले जानकारी दिए । सोमबार भने पेट्रोल दुई सय ६ किलोलिटर र डिजेल पाँच सय २६ किलोलिटर गरी कुल सात सय ३२ किलोलिटर बिक्री भएको थियो ।

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख शैलेन्द्र भुसालले भने सोमबारको तुलनामा कम पेट्रोल–डिजेल बिक्री गरेको बताए । उनका अनुसार सोमबार १२ सय ६४ किलोलिटर बिक्री गरेकोमा मंगलबार १२ सय २० किलोलिटर मात्रै बिक्री भएको छ । पम्प व्यवसायीहरूले बुधबार बिहान तेल बेच्दा प्रतिलिटर पेट्रोलमा नौ रुपैयाँ र डिजेलमा प्रतिलिटर सात रुपैयाँ बढी मुनाफा सुनिश्चित गरेका छन् । पम्प व्यवसायीले मंगलबार साँझसम्म पुरानो दरमा तेल किनेका छन् । 

 स्वचालित प्रणालीलाई चुनौती
प्रत्येक १५ दिनमा आइओसीले नयाँ खरिद मूल्य पठाउने गर्छ । आइओसीले नयाँ खरिद मूल्य पठाउने मिति निश्चित (१ र १६ तारिख) छ । अन्तर्राष्ट्रिय बजारभाउलाई विश्लेषण गरी आइओसीले नयाँ मूल्य पठाउँदा घटाएर वा बढाएर पठाउनेबारे पम्प व्यवसायी जानकार हुन्छन् । त्यसैले उनीहरूले मूल्य घट्ने वा बढ्ने दिन अतिरिक्त लाभ हुने गरी इन्धन खरिद गर्न सक्छन् ।

यसबाट निगमलाई संस्थागत रूपमा नोक्सानी हुनेछ । त्यस्तै, निगमभित्र आर्थिक अराजकता र विकृतिसमेत बढ्ने खतरा देखिएको छ । मूल्य बढ्ने वेला सामान्य अवस्थाको भन्दा बढी तेल दिने डिपो प्रमुखलाई पम्प व्यवसायीहरूले प्रतिलिटरका दरले कमिसन रकम बुझाउन तयार हुन्छन् । र, यो विकृतिले संस्थागत रूप लिने जोखिम रहन्छ ।

मूल्य घट्ने वेला पम्प व्यवसायीले तेल नै नउठाउने गर्छन् । यस्तो वेला कमिसन लेनदेन गरेका डिपो प्रमुखले तेल लैजान पम्प व्यवसायीलाई दबाब दिन सक्दैनन् । जसकारण बजारमा तेलको अभाव हुन सक्छ । यसअघि भने मूल्य घटबढबारे व्यवसायीलाई थाहा नहुने हुँदा इन्धन आपूर्तिमा कुनै अवरोध र चलखेल हुने गरेको थिएन ।

पहुँच हुने पम्प व्यवसायीले धेरै तेल लगे
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय पदाधिकारीलाई मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य ठूलो अन्तरले बढ्ने अग्रिम जानकारी थियो । केही ठूला व्यवसायीलाई मंगलबार साँझ साढे पाँच बजे निगम सञ्चालक समिति बैठक डाकिएको  सोमबार नै थाहा थियो ।

त्यसैले ठूला र पहुँच भएका व्यवसायीले मंगलबार बिहान नै तुलनात्मक रूपमा धेरै तेलका उठाए । केही मध्यमस्तरका पम्प व्यवसायीले भने दिउँसो मात्रे थाहा पाएपछि दोहोर्याई, तेहर्याई बढी तेलको माग गरेका थिए । मूल्य बढ्ने सूचनाका आधारमा व्यवसायीले धेरै तेल माग गर्न थालेपछि डिपो प्रमुखहरूले सामान्य अवस्थाको मागसँग तुलना गर्दै सोभन्दा बढी नदिने अडान राखेका थिए ।

निगमको कोसी प्रादेशिक कार्यालय प्रमुख पूर्ण रिजालका अनुसार बिहानदेखि बेलुकासम्मै पम्प व्यवसायीले अन्य दिनको भन्दा धेरै तेलको माग गरेका थिए । ‘मूल्य बढ्ने अनुमानका आधारमा पम्प व्यवसायीले धेरै तेल मागेका थिए, तर धेरै हदसम्म कडाइ गरियो,’ उनले भने, ‘मागेजति कसैलाई तेल दिइनँ । तैपनि, अन्य दिनको भन्दा आज केही बढी वितरण हुन पुगेको छ ।’  

डिपो प्रमुखले मागअनुसार तेल नदिएपछि पहुँच भएका पम्प व्यवसायीले केन्द्रीय कार्यालयका कर्मचारीलाई भनसुन गरी दबाब र प्रलोभन देखाएर डिपोबाट मनग्य तेल उठाएका छन् । डिपो प्रमुखहरूलाई केन्द्रीय कार्यालयका उच्च तहका कर्मचारीले फोन गरी पम्पले मागेजति तेल दिन दबाबसमेत दिएका थिए ।

व्यवसायीहरूले पनि मंगलबार मागेजति तेल नपाएको भन्दै गुनासो गरेका छन् । ‘पम्पले मागेजति तेल कुनै पनि डिपोले दिएनन् । यो राम्रो भएन,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने । बढ्ने वेलामा मागेजति तेल नपाएका पम्प व्यवसायीले मूल्य घट्ने वेलामा भने डिपोबाट तेल नै नउठाएर बदला लिने भन्दै चित्त बुझाएर बसेका छन् ।

पेट्रोल नौ र डिजेल सात रुपैयाँ बढ्यो, ग्यास एक सय ३० रुपैयाँ घट्यो
नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल नौ रुपैयाँ, डिजेल र मट्टीतेल समान सात रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिलिटर एक सय ३० रुपैयाँले घटाएको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७३ रुपैयाँ र डिजेल र मट्टीतेल समान एक सय ५३ रुपयाँ प्रतिलिटर पुगेको छ । काठमाडौंको तुलनामा तराईका जिल्लामा प्रतिलिटर २.५० रुपैयाँ र दाङ तथा सुर्खेतमा प्रतिलिटर एक रुपैयाँ पेट्रोल र डिजेल सस्तो पर्ने गर्छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने एक हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ । हवाई इन्धनको मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मंगलबार दिउँसो मूल्य बढेर आएका कारण निगमले पनि नेपाली बजारमा मूल्य समायोजन गरेको हो । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार  पेट्रोल ८.१४ रुपैयाँ र डिजेल ६.८६ रुपैयाँ प्रतिलिटर बढेर आएको तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक सय १७ रुपैयाँ ६२ पैसा घटेर आएको छ । १५ दिनअघिबाट निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने भन्दै स्वचालित प्रणाली लागू गरेको छ ।

See More On

सुझावित समाचार