चार वर्षपछि टोलीमा फर्किइन् पूर्वकप्तान नेरी

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा हुने आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोट खेल्ने २४ सदस्यीय टोलीको प्रारम्भिक घोषणा गरेको छ । मलेसियामा ३१ अगस्टदेखि ९ सेप्टेम्बरसम्म एसिया छनोट हुँदै छ । क्यानले प्रारम्भिक छनोटमा मनीषा चौधरी, स्नेहा महरा र पूजा महतोलाई पहिलोपटक क्लोज क्याम्पमा समावेश गरेको छ । युवा खेलाडीले स्थान बनाउँदा तीनजना सिनियरले पनि स्थान पक्का गरेका छन् । 

नेपालकी पूर्वकप्तान नेरी थापाले लामो समयपछि प्रारम्भिक टोलीमा स्थान बनाएकी छिन् । नेपाली महिला क्रिकेट टोलीकै महत्वपूर्ण खेलाडी मानिने नेरीले चार वर्षपछि स्थान बनाएकी हुन् । उनले अहिलेसम्म ११ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६३ रन बनाएकी छिन् । उनले ११ अन्तर्राष्ट्रिय टी–२० खेलमा बलिङ गर्दै १७ विकेट लिएकी छिन् । यसक्रममा उनले २१९ बलमा एक सय २२ रन खर्चिइन् । नेरीले सन् २०१९ मा चीनविरुद्धको अभ्यास खेलबाट अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेकी हुन् । 

सन् २०१९ को २७ फेब्रुअरीमा कुवेतविरुद्ध उनले अन्तिमपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेकी थिइन् । घरेलु क्रिकेट प्रतियोगितामा उनी एपिएफसँग आबद्ध छिन् । यसैगरी, नेपाली टोलीमा ब्याट्सम्यान रोमा थापाले पुनरागमन गरेकी छिन् । उनी सन् २०२२ को १९ मेपछि टोलीमा फर्किएकी हुन् । उनले अन्तिमपटक कीर्तिपुर मैदानमा युगान्डाविरुद्ध खेलेकी थिइन् । अन्तर्राष्ट्रिय टी–२० डेब्यु भने रोमाले चीनसँगको अभ्यास खेलमा गरेकी थिइन् । एपिएफमा आबद्ध रोमाले १३ अन्तर्राष्ट्रिय टी–२० खेलमा ४५ रन बटुलेकी छिन् । उनको स्ट्राइक रेट ६१.६४ हो । घरेलु क्रिकेटमा उनी एपिएफमा आबद्ध छिन् । 

नेपाली राष्ट्रिय महिला क्रिकेटकी पूर्वकप्तान नेरी थापासँगै सबनम राई र रोमा थापाले टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट प्रतियोगिताको प्रारम्भिक घोषित टोलीमा स्थान बनाए

दुई सिनियर खेलाडीले क्लोज क्याम्पमा स्थान बनाउँदा बलर सबनम राई पनि परेकी छिन् । मध्यक्रमकी दायाँहाते ब्याट्सम्यान सबनमले लगभग एक वर्षपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा स्थान सुरक्षित गर्न सफल भएकी छिन् । सन् २०२१ मा उनले कतारसँगको प्रतियोगितामा अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेकी थिइन् । उनले गत वर्षको जुनमा अन्तिमपटक क्वालालम्पुरमा हङकङविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । नेपाली टोलीमा अलराउन्डर भूमिका निर्वाह गर्ने सबनमले ११ अन्तर्राष्ट्रिय टी–२० खेलमा दुईपटक ब्याटिङ गरी तीन रन मात्र जोडिन् । उनले ११ अन्तर्राष्ट्रिय खेलमा बलिङ अवसर पाइन् । यसक्रममा उनले १० विकेट हात पारेकी थिइन् । उनले २०९ बलमा १५८ रन खर्चेकी थिइन् । अन्तर्राष्ट्रिय टी–२० मा उनको बलिङ इकोनोमी ४.५३ रहेको छ । घरेलु लिगमा उनी प्रदेश १ मा आबद्ध छिन् । 

 नेपाल समूह ‘ए’मा 
प्रतियोगिताको समूह एमा नेपालले आयोजक मलेसिया, बहराइन, भुटान, कतार र युएईको सामना गर्नेछ । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् । ग्लोबल महिला टी–२० विश्वकप बंगलादेशमा हुँदै छ । ग्लोबल छनोटमा १० टोली रहनेछन् । ग्लोबल छनोटको आयोजक श्रीलंका र आयरल्यान्डसँगै पाँच क्षेत्रीय छनोटबाट आउने आठ टोली रहनेछन् । 

शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकपमा स्थान बनाउनेछन् । अर्को वर्ष हुने महिला टी–२० विश्वकपमा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र वेस्ट इन्डिजले सीधै स्थान बनाएका छन् । गत वर्ष दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपका शीर्ष ६ टोलीले सीधै स्थान बनाएका हुन् । पाकिस्तान वरीयताको आधार र बंगलादेश आयोजकका रूपमा सीधै छनोट भएका हुन् । 

 क्लोज क्याम्पमा रहने खेलाडी
रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनीषा चौधरी, रुवि पोदार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, सृष्टि जैशी र स्नेहा महरा ।

See More On

सुझावित समाचार