सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सभामुख घिमिरेले मंगलबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेता केपी ओलीसँग टेलिफोन संवाद गरी निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन ध्यानाकर्षण गराए ।
सभामुखले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराए । उनले सदनकाे अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग समेत पटक–पटक छलफल गरेका थिए ।