२१ दिनभित्र आफैँले खाली गर्ने सहमति
हाइटेन्सन लाइनमुनि रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय हटाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार भएको छलफलमा राप्रपाले २१ दिनभित्र आफैँ कार्यालय खाली गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेपछि महानगर पछि हटेको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार २१ दिनभित्र आफैँले कार्यालय खाली गराउने भन्दै समय मागेका छन् । उनले भने, ‘उहाँहरूसँगको सहमतिअनुसार हामी कुर्छौँ ।’ सोमबार दिउँसो भएको छलफलमा महानगरका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राप्रपाका प्रतिनिधि र काठमाडौंको सिडिओको उपस्थिति रहेको थियो ।
सोमबार दिउँसोदेखि नै महानगर प्रहरी अवैध रूपमा बनेको राप्रपाको पार्टी कार्यालय भत्काउन तयारी अवस्थामा थियो । आफ्नो कार्यालय भत्काउन लागेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ताले विरोधस्वरूप सडकमै गाडी तेस्र्याएर अवरोध गरेका थिए । महानगरले राप्रपालाई आइतबारसम्म भवन खाली नगरे सोमबार भत्काउने सूचना दिएको थियो । तर, राप्रपाले महानगरको सूचना बेवास्ता गर्दै भवन खाली गराएको थिएन ।
महानगरले राप्रपाको कार्यालय भवन अनधिकृत भएको भन्दै भत्काउन खोजेको हो । राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनको कौसीले हाइटेन्सन लाइन छुन्छ । हाइटेन्सन लाइन भएको ३५ फिट दायाँ र बायाँ संरचना बनाउन मिल्दैन भने संरचनाको नक्सापाससमेत हुँदैन ।