नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्रीनिवास बालुवाटार र संघीय संसद् भवनअगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा धर्ना कार्यक्रमको सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको बताए ।
व्यवसायीहरूले विभिन्न निकायमा काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, बिमा निर्देशिका–२०७८ खारेज गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन गरेका हुन् ।
कार्यक्रममा महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरूको वास्तविक मर्मलाई कसैले बुझ्न नसकेको भन्दै अझ सशक्त आन्दोलन अपरिहार्य रहेको बताए । त्यस्तै, पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले मुलुकको निर्माण उद्योग कठिन अवस्थामा रहेको बताए । महासंघका महासचिव रोशन दाहालले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको बताए ।
महासंघले दिउँसो तीन बजेदेखि चार बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद्अगाडि धर्ना दिएको छ । आफ्ना जायज मागहरूको राज्यले बेवास्ता गरेको भन्दै महासंघले मंगलबार पनि प्रधानमन्त्रीनिवास र संघीय संसद्अघि निर्माण कार्यमा प्रयोग हुने यन्त्र–उपकरणसहित प्रदर्शन गर्ने भएको छ ।