फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।
एक खेलअगाडि नै नकआउट चरणमा स्थान बनाएको जापान समूह विजेता बनेको छ । स्पेन यस समूहमा उपविजेता बनेको छ ।
जापानविरुद्ध स्पेनले पूरै खेल अवधिमा दबाब राखेको थियो । स्पेनले ७७ प्रतिशत बल पोसेसन बनाएको छ । तर, जापानले प्राप्त अवसरमा गोल गर्दै स्पेनलाई निराश बनाउन सफल भयो ।
जापानको सानदार जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् । रिको युकी र मिना तानाकाले समान एक गोल गरे । बलियो स्पेनमाथि जापानले मध्यान्तरअघि नै ३–० को अग्रता लिएको थियो ।
जापानले गरेको तीनवटै गोल काउन्टर एट्याकमा थियो । खेलको १२औँ मिनेटमा हिनाताले स्पेनका खेलाडी सम्हालिन नपाउँदै जापानलाई १–० को अग्रता दिलाइन् ।
२९औँ मिनेटमा रिकोले जापानलाई २–० को स्थितिमा राखिन् । खेलको ४०औँ मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो गोल गर्दा जापान ३–० ले अघि रह्यो ।
पहिलो हाफमा स्पेनको गल्तीमा गोल गरेको जापानले मध्यान्तरपछि एक गोल मात्र थप्यो । खेलको ८२औँ मिनेटमा तानाकाले जापानलाई ४–० को जित पक्का गरिन् ।
समूह ‘सी’मा जापानले तीन खेलमा अपराजित रहँदै सर्वाधिक नौ अंक बटुलेको छ । स्पेन ६ अंकका साथ उपविजेता बनेको छ । यस समूहबाट जाम्बिया र कोस्टारिका बाहिरिएका छन् । जाम्बियाले एक अंक जोडेको छ ।
जाम्बियाले कोस्टारिकालाई हराएको थियो । अब जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेता नर्वेविरुद्ध खेल्नेछ । स्पेनले समूह ‘ए’को विजेता स्विट्जरल्यान्डको सामना गर्नेछ ।
समूह ‘सी’मा जाम्बियाले कोस्टारिकालाई ३–१ ले हराएको थियो । जाम्बियाको जितमा लुसोमो मेम्वा, बारब्रा बन्डा र रचेल कुन्दानान्जीले गोल गरेका थिए ।