सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन्।
सोमबार सर्वांगीण विकास अध्ययन संस्था (आइआइडिएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले ऐन कानुनलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउने उल्लेख गरिन्।
‘अब नेपालबाट विदेशमा श्रमिक होइन सेवा निर्यात गर्न सक्छौँ। यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ,’ मन्त्री शर्माले भनिन्।
संघीय निजामती ऐनमा आइटी समूह राख्नका लागि प्रयास भइरहेको जानकारी दिँदै उनले सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको बताइन्।