पुनर्वासित भुटानीको सहयोगमा शरणार्थी शिविरमा पढ्दै छन् २८५ बालबालिका

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

तेस्राे देश पुनर्वासका क्रममा भुटानी समुदाय आठ देशमा बसाेवास गर्दै आएका छन्। ती पुनर्वासीले नेपालका शरणार्थी शिविरमा दुई सय ८५ बालबालिकालाई अध्ययनका लागि सहयोग गरेका छन्। 

पुनर्वासित भुटानी नेपाली समुदायहरूको संस्था ग्लोबल भुटानिज अर्गनाइजेसन (जिबिओ)को माध्यमबाट शरणार्थी शिविरमा रहेका बालबाालिकाको अध्ययनका लागि वार्षिक रूपमा चालीस लाख रुपैयाँभन्दा बढी सहयोग गर्न थालेका छन्। उनीहरूको सहयोगमा दुईवटा विद्यालयमा दुई सय ८५ जना विद्यार्थी अध्ययन गरिरहेको जिबिओले जनाएको छ। 

पूर्वीनेपालका झापाको बेलडाँगी र मोरङकाे पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकालाई अध्ययनका लागि जिबिओले शिक्षक र कर्मचारीको व्यवस्था गरेको छ। 

जिबिओले अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्डस्, नर्वे, न्युजिल्यान्ड र बेलायतमा रहेका समुदायलाई समन्वय गरेर अध्ययनका लागि लगानी गरेको छ।

बेलडाँगीको अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर र श्री वाटिका बाल विकास केन्द्र पथरी शनिश्चरे शिविरमा जिबिओले शिक्षक र कर्मचारीको तलबका लागि अनुदान दिँदै आएको छ। 

तीन वर्षदेखि पुनर्वासी भुटानी नेपालीले विद्यालयका लागि निरन्तर पैसा पठाइरहेका छन्। उनीहरूले पठाएको रकमबाट प्ले ग्रुप, नर्सरीदेखि एक कक्षासम्मका बालबालिकालाई एक समय खाना र सम्पूर्ण पढाइ खर्च, पोसाक, पुस्तकको व्यवस्था गरिएको छ। 

अमेरिकाको केन्टुकी लुइसभिलमा बस्दै आएका जिबिओका बाह्य सम्बन्ध मामिलाका निर्देशक मित्र सुवेदीका अनुसार बेलडाँगीमा दुई सय २० जना र पथरी शनिश्चरेमा ६५ जना गरी जम्मा दुई सय ८५ बालबालिका अहिले अध्ययनरत छन्। 

तेस्राे देश पुनर्वासमा छुटेका र आर्थिक रूपमा विपन्न रहेका भुटानी शरणार्थी समुदायका बालबालिकालाई सहयोग गरेको सुवेदीले बताए। अमेरिकाको सिन्सिनाटीमा बसोवास गर्दै आएका जिबिओका अध्यक्ष डिबी राईले विपन्न परिवारका बालबालिकाको अवस्थालाई मध्यनजर राख्दै एक छाक खानाको पनि व्यवस्था गरिएको जानकारी दिए। 

‘एक छाक खानाको बन्दोबस्त गरेपछि अभिभावकहरूले पनि बालबालिकालाई पठाएका छन्, उनीहरूको अध्ययनमा पनि रुचि थपिएको हामीले पाएका छौँ,’ संस्थाका बाह्य सम्बन्ध हेर्दै आएका सुवेदीले भने। 

सुवेदीका अनुसार भुटानी समुदायबाट जिबिओले पैसा उठाउने गरेको छ। ‘हामीले पुनर्वासमा रहेका विभिन्न संस्था र व्यवसायी एवं अग्रजहरूसँग सहयोग मागेर नेपालमा पठाउने गरेका छौँ। हामीलाई समुदायबाट राम्रो सहयोग प्राप्त भएको छ,’ सुवेदीले भने, ‘हामी अर्को देशमा आए पनि नेपालमा रहेका हाम्रो समुदायका नानीहरूप्रतिका दायित्वबोध सबैमा भएको छ।’
 
जिबिओबाट जम्मा हुने रकमबाट दुई विद्यालयका सबैजना अर्थात्  २२ जना स्टाफको तलब सुविधा उपलब्ध हुँदै आएको छ। बेलडाँगीमा १६ जना र पथरी शनिश्चरेमा ६ जना कर्मचारी छन्।  २२ जनामध्ये १४ जना शिक्षक छन् भने बाँकी अन्य कर्मचारी छन्।

‘मासिक रूपमा तीन लाख ४६ हजार नेपाली रुपैयाँ हामीले पठाउनैपर्छ,’ सुवेदीले भने, ‘वार्षिक रूपमा करिब ४२ लाख एक हजार रुपैयाँ हामी पठाउँछौँ। बालबालिकाको पोसाक, झोला, रसदपानी र इन्टरनेट पनि हामी नै व्यवस्था गर्छौैँ।’
 
जिबिओका अध्यक्ष राई भन्छन्, ‘विभिन्न देशमा आएका हाम्रा नानीहरूले राम्रो शिक्षा लिइरहेका छन् । हामीले शिविरमा रहेका विपन्न मानिसका नानीहरूलाई पनि राम्रो शिक्षा दिन सकियोस् भनेर लगानी गर्दै आएका हौँ।’
 
झापा बेलडाँगी तथा मोरङकाे पथरी शनिश्चरेमा रहेको विद्यालयमा स्थानीय विपन्न बालबालिकाका लागि पनि अध्ययनका लागि सहयोग गरिएको सुवेदीले जानकारी दिए। 
 

सुझावित समाचार