खुद्रा व्यवसायीहरूको संगठन नेपाल खुद्रा व्यापार संघले साना खुद्रा व्यवसायीलाई सरकारले विभिन्न प्रकारका झन्झटिला नियम–कानुनहरू ल्याएको जनाएको छ । संघको ४४औँ वार्षिक उत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अध्यक्ष पवित्र बज्राचार्यले सरकारी झन्फटिलो नियम–कानुनका कारण व्यवसायबाटै पलायन हुनपर्ने अवस्था आएको बताएका हुन् ।
उनले भने,‘विभिन्न किसिमका झन्झटिलो नियम–कानुनले गर्दा आज स्वयं स्वरोजगार व्यवसाय गरी आइरहेका व्यवसायीहरू र सो व्यवसायीसँग आश्रित परिवारहरू व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना हुन गइरहेका छन् ।’ यसले गर्दा देशमा बरोजगारको समस्या बढ्दै गए पनि सरकार यस विषयमा गम्भीर नभएको उनको भनाइ थियो । यही परिस्थिति देशमा बढ्दै जाने हो भने अझ बेरोजगारको समस्याले विकराल रूप लिन बेर नलाग्ने अध्यक्ष बज्राचार्यले बताए ।
सरकार कमजोर र साना व्यवसायीहरूको पक्षमा छ भने व्यवसाय सञ्चालन गर्न र यस व्यवसायसँग आश्रितलाई पनि टेवा पुग्ने खालका नीति–नियम एवं कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।
उपभोक्ताको विश्वास जिती आफ्नो व्यवसाय सफल बनाउनु नै व्यवसायीको प्रमुख उद्देश्य रहेको भन्दै उनले सबै खुद्रा व्यवसायीले पनि उपभोक्ताको हितलाई ध्यानमा राखी आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।