प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारबीच संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान भएको भेटमा संसदीय समितिको सभापति चयनका विषयमा छलफल भएको प्रमुख सचेतक परियारले बताए । ‘समिति सभापति नहुँदा विधेयकमाथि प्रभावकारी छलफल हुन सकेको छैन । सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ उनले भने ।
सदन र समितिलाई प्रभावकारी बनाउन रास्वपालाई भूमिका खेल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् । जारी सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले बताए । ‘रास्वपा सदन र समितिलाई प्रभावकारी बनाउने विषयमा सचेत छ । प्रधानमन्त्रीले पनि प्रभावकारी भूमिका निभाउन आग्रह गर्नुभयो,’ उनले भने।
भेटमा प्रधानमन्त्री प्रचण्डले टिआरसी विधेयकका विषयमा पनि चासो राखेका थिए । ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँले चासो राख्नुभएको थियो । कानुन समितिले उपसमिति बनाएर छलफल सकिएको र प्रतिवेदनलेखनको काम भइरहेको जानकारी गराएको छु,’ उनले भने ।