अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ। कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादनविना सुदृढ हुने अवस्था रहँदैन। अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ। तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ।
भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ। पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा रु एक करोडभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ।
विभागका अनुसार गत आवमा रु एक करोड १३ लाख ३७ हजार मूल्यबराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतयाः चीनबाट भित्रिने गरेको छ। त्यस्तै, करिब रु एक करोडबराबरको कपडा झुन्ड्याउने ह्यांगर आयात भएको छ। विभागका अनुसार गत आवमा रु दुई करोड पाँच लाख ४९ हजार मूल्यबराबरको ह्यांगर निर्यात पनि भएको छ।
दुई करोडको सियो र सेफ्टी पिन आयात
विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा रु दुई करोडभन्दा बढी रकम बाहिरिएको छ। गत आवमा रु एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र रु ६३ लाख १० हजार मूल्यबराबरको सियो आयात भएको छ। जसबाट सरकारले रु ६७ लाख ४९ हजारबराबरको राजस्व संकलन गरेको छ।
एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात
विभिन्न यन्त्र उपकरण तथा सवारीसाधनमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ। सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन्। एक वर्षमा रु एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्यबराबरका पेचकिला (स्क्रु) तथा बोल्ट र रु १४ करोड ९४ लाख ३५ हजार मूल्यबराबरको नट आयात भएको छ। विभागका अनुसार गत आवमा रु १५ कारोड ८५ लाखबराबरको फलाम तथा स्टिलको किला आयात भएको छ।