कटानले पुल जोखिममा परेपछि तटबन्ध बनाउन दैनिक डेढ सय स्थानीय जुटे

शनिबार, १३ साउन, २०८०
डिजिटल संस्करण
कटानले पुल जोखिममा परेपछि तटबन्ध बनाउन दैनिक डेढ सय स्थानीय जुटे

जैविक तटबन्ध बनाउन नदी किनारमा काठ राख्दै भजनी नगरपालिका ४ र ९ का स्थानीय । स्थानीय बासिन्दाले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् ।

कान्द्रा नदी कटानले जोखिममा परेको झोलुङे पुल जोगाउन कैलालीको भजनी नगरपालिका ४ र ९ का बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । गत साताबाट जैविक तटबन्ध निर्माण गर्न यी दुई वडाका डेढ सय स्थानीयले दैनिक श्रमदान गरिरहेका छन् । केही दिनयता नदीले कटान तीव्र पारेपछि हालै बनेको वडा नम्बर ४ र ९ जोड्ने झोलुङे पुल जोखिममा परेको छ ।

स्थानीय बासिन्दाले काठ, बाँस, झारपात र बोरामा बालुवा भरेर जैविक तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । भजनी– ९ गन्जहवाका भीम कुडमालले नदी कटानले पुल बग्ने जोखिम भएपछि जैविक तटबन्ध बनाएर जोगाउने प्रयास थालिएको बताए । ‘कटान पुलको पिलरको ३०–३५ मिटरनजिक पुगिसकेको छ,’ उनले भने, ‘रोकथामको प्रयास तत्कालै नगरे नदीले पुल बगाउने जोखिम रहेकाले जैविक तटबन्ध निर्माणमा जुटेका हौँ ।’ 

खैराड, आमबारी र गन्जहवा गाउँका डेढ सयजनाले जैविक तटबन्ध बनाउन दैनिक श्रमदान गरिरहेको कुडमालले बताए । स्थानीयले गत ४ साउनबाट जैविक तटबन्ध निर्माणको काम थालेका हुन् । हालसम्म करिब चार सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको भजनी– ९ का होमबहादुर बोहोराले बताए । जैविक तटबन्ध निर्माणको अगुवाइ गरिरहेका उनले थप पाँच सय मिटर तटबन्ध निर्माणका लागि श्रमदान कार्य केही दिन जारी रहने बताए । 

‘पुल कटानको जोखिममा छ, तटबन्ध बनाइदिनुपर्‍यो भनेर पुल निर्माण भएदेखि नै हामी नगरपालिकामा गयौँ, संघ र प्रदेशका सांसदलाई भन्यौँ,’ उनले भने, ‘तर, कतैबाट पनि सुनुवाइ नभएपछि हामी आफैँ अग्रसर हुनुपरेको हो ।’ बोहोराले पुल निर्माणका क्रममा दुवैतर्फ पक्की तटबन्ध नबनाइएकाले कटानबाट पुल बग्ने जोखिम रहेको बताए ।

बर्खामा उर्लेर आउने कान्द्रा तर्न स्थानीयको एक मात्र सुरक्षित विकल्प यो झोलुङे पुल हो । करिब सात महिनाअघि झोलुङे पुल निर्माण भएपछि स्थानीयले नदी तर्दा भोग्दै आएको सास्ती र जोखिम हटेको छ । विगतमा पुल नहुँदा स्थानीयले बर्खायाममा डुंगाबाट जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो । हिउँदमा पानी कम हुने भएकाले ठेक्कामा राखिने काठको पुलबाट पैसा तिरेर नदी तर्नुपर्थ्यो ।

‘पुल बनेपछि निकै सहज भएको छ, तर कटान तीव्र हुँदा बनेको पुल नदीले यसै वर्ष बगाउलाजस्तो भयो,’ बोहराले भने, ‘बल्लतल्ल बनेको पुल बगेर विगतको जस्तो जोखिम र सास्ती भोग्नु नपरोस् भनेर कटान नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’ पुल बनेपछि डुंगा विस्थापित भएको उनले बताए । 

जैविक तटबन्ध बनाउन स्थानीय सामुदायिक वनबाट कुकाठ, स्याउला र झारपात प्रयोग गरिएको छ । बालुवा राख्न सिँचाइ डिभिजन धनगढीले हजारवटा बोरा दिएको स्थानीयले बताएका छन् । श्रमदानमा सहभागी हुन गाउँका भल्मन्सामार्फत स्थानीयलाई खबर गर्ने गरिएको छ ।

गाउँमा स्थानीयका ट्र्याक्टर प्रयोग गरेर जैविक तटबन्धमा प्रयोग हुने कुकाठ, स्याउला र झारपात सामुदायिक वनबाट ढुवानी गरिरहेको आम्बासा गाउँका भल्मन्सा हेमराज चौधरीले बताए । आफूहरू बिहानदेखि बेलुकीसम्म तटबन्ध निर्माणको काममा खटिरहेको उनको भनाइ छ । ‘सबै व्यक्तिगत खर्चमा काम गरिरहेका छौँ । खानेपानीको समस्या छ, बोकेर ल्याउनुपर्छ,’ चौधरीले भने ।

स्थानीय जनप्रतिनिधिसमेत जैविक तटबन्ध निर्माण सहभागी हुने गरेका छन् । भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले कान्द्रा नदीले पुलवरपरका खेतमा तीव्र कटान गरिरहेको जानकारी दिए । उनले पुलको छेउछाउतिर तटबन्ध नबनाइएको बताए । 

‘संघ र प्रदेशबाट समन्वय नहुँदा पुल कसले बनाएको भन्नेसमेत हामीलाई जानकारी छैन । पुलसँगै छेउछाउतिर तटबन्ध पनि बनाउनुपर्थ्यो,’ चौधरीले भने, ‘यस वर्ष नगरपालिकाले केही न केही गर्छ ।’ तटबन्धका लागि ठूलो बजेट चाहिने भएकाले नगरपालिकाले मात्र बनाउन नसक्ने उनको भनाइ छ । ‘संघ र प्रदेश सरकारसँग पहल गरेर पुल जोगाउन तटबन्ध निर्माण गर्छौँ,’ प्रमुख चौधरीले भने । कान्द्रा, काँडा, मोहना, पथरैया, कर्णालीलगायत नदीले बर्खायाममा भजनी, टीकापुर, कैलालीसहित जिल्लाको दक्षिणी क्षेत्रमा व्यापक मात्रामा कटान गर्ने गर्छन् ।
 

सुझावित समाचार