३ प्रश्न

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकबारे तपाईंको पर्यवेक्षण के छ  ? 
दुई महिनामा बस्नुपर्ने बैठक एक वर्षपछि भयो, त्यो पनि ‘वादविवाद क्लब’को जस्तो बसिबियाँलो बन्यो । अवसर औपचारिकता निर्वाहमै खेर गयो । नेतृत्वको मूल तहमै चिरा परेको दृश्यसँगै वर्तमानको चुनौतीलाई हेर्ने र भविष्यको जोखिमलाई सम्बोधन गर्नेबारे मतभेद, नेतृत्व तहमा संवादहीनता र कार्यगत मनोमालिन्यलाई प्रत्यक्ष प्रसारणद्वारा आमजनतामाझ पुर्याइयो । नेतृत्वले कार्यकर्ताको चित्त बुझाउन सकेन । कार्यकर्ता तहले नेतृत्वलाई विवेकको पर्खालमा लेखिएको चेतावनी पढाउन सकेन ।  

कांग्रेस बैठकबाट राष्ट्रिय राजनीतिको अपेक्षा के थियो ? 
कार्यसमितिले गम्भीर भएर सम्बोधन गर्नैपर्ने चारवटा ‘इस्यु’ थिए— खण्डित भएको नेपालको भौगोलिक अखण्डता, कांग्रेसभित्र झ्याङ्गिएको राजनीतिक संस्कारको हुर्मत लिने व्यक्तिवादी संस्कृति तथा ‘भारतीय जनता पार्टीबाट नेपालका सबै पार्टीका प्रभावशाली राजनीतिज्ञले पैसा लिने गरेको’ अमेरिकी परराष्ट्र मन्त्रालयद्वारा दुई महिनाअघि सार्वजनिक गरेको दाबी तथा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने देशद्रोही अपराध, राज्यको जमिन बेच्ने ललिता निवास काण्ड । नेपाली जनताको मनोबल गिराएका र विश्वसमुदायमाझ नेपालको छवि बिगारेका यीमध्ये कुनै पनि इस्युमा खासै ध्यान दिइएन । 

कांग्रेस बैठकको अन्तर्राष्ट्रिय मूल्यांकन कस्तो होला ?
पार्टीको बैठकमा नेताहरू अमेरिकामा बनेको शक्तिशाली ‘एम १६’ बोकेका सुरक्षा जमातद्वारा घेरिएर गएको देख्दा नेपालको सुरक्षा अवस्था नाजुक रहेको अन्तर्राष्ट्रिय मूल्यांकन भएको हुनुपर्छ । नेपालको अस्थिरतामा आफ्नो सामरिक स्वार्थ पूरा गर्न सजिलो ठान्नेहरू लोभिएर हेरिरहेको चिन्तायुक्त तथ्य प्रमुख नेताहरूले चाँडो बुझ्नुमै देशको कल्याण छ ।  

सुझावित समाचार