क्यानोइङ गर्ने क्रममा कास्कीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका– २६ बुढीबजार बस्ने वर्ष २२ की अन्जिता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ घलेलस्थित पोखरा क्यानोइङमा क्यानोइङ गर्ने क्रममा खसेर उनको मृत्यु भएको हो।
क्यानोइङ गर्ने क्रममा अचानक खस्न गई घाइते भएकी उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको विकले जानकारी दिए।
क्यानोइङ डोरीको सहायतामा झरनासहितको पहराबाट झर्दैे खेल्ने साहसिक खेल हो।
बेल्टको हुक नलगाई धकेल्दा घटना भएको दाबी
क्यानोइङ गर्दा बेल्टको हुक नलगाई धकेल्दा घटना घटेको बताइएको छ। दिदी र भाइसँग गएकी अन्जितालाई क्यानोइङ गर्दा बेल्टको हुक नलगाई त्यहाँका कर्मचारीले धकेल्दा घटना भएको परिवारको दाबी छ।
क्यानोइङका कर्मचारीले भने चिप्लिएर लड्दा घटना घटेको बताएका छन्। तीनजनामध्ये सुरुमा अन्जिताकी दिदीले क्यानोइङ गरेकी थिइन्। त्यसपछि अञ्जिता र भाइ गएका थिए।
भाइभन्दा अघि रहेकी अन्जितालाई क्यानोइङ गर्ने क्रममा डोरीको हुक नलगाई धकेलिदिँदा घटना भएको परिवारको भनाइ छ। घटनापछि प्रहरीले घटनाको अनुसन्धानका लागि क्यानोइङका तीन कर्मचारीलाई पक्राउ गरेको छ।
विकका अनुसार करिब ४५ मिटरमाथिबाट खसेको भनिएको छ। यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले पछि यथार्थ के हो पत्ता लाग्ने बताए। घटनापछि पीडित परिवारले क्यानोइङका सञ्चालक र कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार जाहेरी दर्ता गरेका छन्।
दुई साताअघि अमेरिकाबाट आएकी थिइन्
अञ्जिता दुई साताअघि मात्र अमेरिकाबाट आएकी थिइन्। उनी दिदी र भाइसँगै नेपाल आएकी थिइन्।
स्थायी घर पोखरा भएका उनीहरू बुबाआमासँगै अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन्। इन्जिनियरिङतर्फ स्नातक अध्ययन सकेकी अन्जितासँगै दिदी र भाइ नेपाल आएसँगै आफन्तसँगको भेटघाटसँगै विभिन्न पर्यटकीय क्षेत्र घुमघाममा व्यस्त रहेका थिए। माथिल्लो मुस्ताङ घुमेर आएका उनीहरू त्यसपछि क्यानोइङ गर्न पुगेका थिए।