संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्योति विकास बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत वातावरण, स्वास्थ्य, सशक्तीकरणलगायतका क्षेत्रमा सहयोग पुर्याउने हेतुले कार्यक्रमहरू गरेको जनाएको छ।

शारीरिक तवरले फरक बालबालिकाहरूका लागि कृत्रिम हात प्रदान गर्न ‘इनेबल नेपाल’सँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ। उक्त संस्थासँगको सहकार्यमा बैंकले १५ बालबालिकाहरूलाई ‘थ्रिडी प्रिन्टेड’ कृत्रिम हात प्रदान गर्नेछ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरे।

त्यसैगरी, जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था फेक्ट नेपालसँगको सहकार्यमा बैंकले विभिन्न १५ ठाउँहरूमा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको आयोजना गर्न सम्झौता गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनका लागि वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेको छ। धनगढी उपमहानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षरोपण गरेको हो। सोही अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नम्बर ५, ६ र ७ का सार्वजनिक स्थानहरूका लागि ५० थान डस्टबिन वितरण गरेको छ। 

वार्षिकोत्सवकै अवसरमा बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो।

त्यसैगरी, बैंकले लमजुङस्थित अपांग संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिहरूलाई विभिन्न सहायता सामग्रीहरू प्रदान गरेको छ । बेँसीसहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्रीहरू वितरण गरेको हो ।

सुझावित समाचार