भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउ बरामद

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

अवैध रूपमा भारत तस्करी गरिरहेको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले अवैध रूपमा भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउसहित मिनीट्रक बिहीबार बिहान नियन्त्रणमा लिएको छ।

स.१ख ६०० नम्बरको मिनीट्रकमा लोड गरी नेपालबाट भारततर्फ तस्करी गरिरहेको स्याउ सिराहाको नवराजपुर गाउँपालिका– ५ सीमावर्ती क्षेत्रनजिकैबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। 

भारततर्फ मिनीट्रकमा लोड गरी लैजाँदै गरेको स्याउकोे बिल–बिजक नभएकाले तस्करी भइरहेको भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 

सो मिनीट्रक नजराजपुर गाउँपालिका– ५ देवनर र झाँझपट्टीबीचको कृषिसडक हुँदै भारततर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल हेक्वा नं. ७ का का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रमोदकुमार भारतीले जानकारी दिएका छन्। ट्रक नियन्त्रणमा लिए पनि चालक फरार भएका छन्।

नियन्त्रणमा लिएको स्याउ र मिनीट्रक ठाँडी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। स्याउ पाँच लाख ३६ हजार र मिनीट्रकको २५ लाख गरी ३० लाख ३६ हजार प्रतिवेदन मूल्यसहित ठाँडी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सिराहाको विभिन्न ग्रामीण सडक हुँदै स्याउ, मदिरा, सुपारीको तस्करी हुँदै आएको छ। केही समयअघि ठाँडी भन्सार भएर तस्करी गरिएको एक करोडभन्दा बढीको लत्ताकपडा हेटाैँडामा प्रहरीले नियन्त्रणमा लिएको थियो। 

सीमावर्ती भारतीय बजारहरूबाट तस्करहरूले स्थानीय प्रहरी र भन्सार कर्मचारीलाई मिलाएर लत्ताकपडा, स्पेयर पार्टस्, औषधिको तस्करी गर्दै आइरहेका छन्।
 

सुझावित समाचार