मत्स्यपालनसँगै सिपीमा मोतीपालन गरी किसानहरूले थप आम्दानी बढाउन सकिने अनुसन्धानमा पोखराको मत्स्य अनुसन्धान केन्द्रले सफलता पाएको छ । यो सफलतासँगै माछापालक किसानको आम्दानी बढाउन सकिने सम्भावना बढेको हो ।
मत्स्य अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. मो. इकबाल हुसेनले नेपालमा मुख्यतया कार्प प्रजातिका माछापालन गर्ने गरिएको र कृषि प्रणालीको नाफा बढाउनुका साथै नयाँ जल कृषि क्षेत्रको विस्तारका लागि एक्वाकल्चर उत्पादनहरूको विविधीकरण गर्नु अपरिहार्य रहेको बताए । सफा जलाशयको पानीमा मोतीपालन एक्वाकल्चर क्षेत्रमा उदीयमान क्षेत्रमध्ये एक भएको उनको भनाइ थियो । नेपालम्ँ भएको जलस्रोतलाई मोतीपालनका लागि उपयोग गर्न सकिनेमा उनले जोड दिए ।
नेपालका विभिन्न जलस्रोतहरूमा सजिलै पाइने सिपीका प्रजातिहरू रहेको र त िसिपीलाई सफा जलीय मोतीखेती गर्न प्रयोग गर्न सकिने डा. हुसेनको भनाइ छ । नेपालमा माछापालनको फराकिलो क्षेत्र उपलब्ध रहेकाले माछापालनका साथै सिपीमा मोतीपालन पनि एकीकृत गर्न सकिने तथा यसरी माछापालनको आम्दानीका साथै मोतीपालनबाट थप आम्दानी भई किसानहरूको आर्थिक अवस्थामा सुधार हुने उनको भनाइ छ ।
मोतीपालनसम्बन्धी अनुसन्धानको नतिजाअनुसार ‘लामिलिडेन्समार्जिनलिज्’ जातको स्थानीय सिपी मोतीपालनका लागि पहिचान गरिएको र सिपीको बाहिरी आवरणबाट इमेज विड (भगवान्को मूर्ति छाया) र गोलाकार विड (गोलो मोती) तयार गर्ने विधि तयार गरिएको जनाइएको छ । अनुसन्धानको परीक्षणका लागि इमेज विड र गोलाकार विड ८० देखि १०० ग्रामका सिपीहरूको मेन्टल केबिटीमा सर्जरीको माध्यमले राखिसकेपछि सानो थैलीमा डोरीको सहायताले एक वर्षसम्म बेगनास अफिसको पोखरी, टैंक, रूपाताल र फेवातालमा पालनका लागि राखेको जनाइएको छ ।
यी सिपिबाट एक वर्षपछि इमेज पर्ल र हाफ गोलाकार पर्ल प्राप्त भएको डा. मो. इकबाल हुसेनले बताए । उनको भनाइअनुसार सिपीमा मोतीपालनको अनुसन्धानको यस सफलताले सरकार र निजी क्षेत्रका लागि लगानी र विकासका लागि आकर्षक रणनीति हुन सक्नेछ । नेपालको तराईदेखि मध्यपहाडी क्षेत्रसम्मका पोखरी, ताल, खोला, जलाशय आदिमा सिपीमा मोतीपालन गर्न सकिने भएकाले यसले अतिरिक्त आम्दानीका साथ माछा उत्पादक किसानहरूको जीवनस्तरमा सुधार गर्ने हुसेनले बताए ।