काठमाडौं महानगरलाई एक लाख करदाताले तिरेनन् कर

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरलाई अघिल्लो आर्थिक वर्षसम्म दुई लाख ३२ हजार दुई सयजनाले कर बुझाउँदै आएका थिए । तर, आर्थिक वर्ष ०७९/८० मा यो आधाले घटेको छ । यस आर्थिक वर्षमा सम्पत्ति तथा भूमिकर तिर्नेको संख्या जम्मा एक लाख ३१ हजार तीन सय ४८ मात्रै रहेको छ । बाँकी एक लाख करदाताले महानगरलाई कर नै बुझाएनन् । 

महानगरका अनुसार आर्थिक वर्ष ०७९/८० मा ९२ हजार नौ सय ४८ व्यवसाय करतर्फ ९७ हजार नौ सय ६० ले तिरेका छन् । तर, करदाताअनुसार राजस्व संकलन गर्न नसकिएको महानगरका राजस्व विभागका निर्देशक ध्रुवकुमार काफ्लेले जानकारी दिए । उनका अनुसार विगतका वर्षहरूमा भन्दा आर्थिक वर्ष ०७९/८० मा धेरै कर संकलन भएको छ । आर्थिक वर्ष ०७८/७९ मा ५१ हजार पाँच सय चारजनाले बहाल कर तिरेका छन् । यस वर्ष व्यवसाय कर तिर्नेको संख्या ४४ हजार सात सय ८३ छ भने सम्पत्ति कर ७४ हजार ६ जनाले बुझाएका छन् । बहाल कर, व्यवसाय कर र सम्पत्ति कर बुझाउनेको जम्मा संख्या एक लाख १८ हजार २० रहेको छ । 

ध्रुवकुमार काफ्ले, निर्देशक, राजस्व विभाग, काठमाडौं महानगर
करदाता घटे पनि राजस्व रकम बढेको छ । तीव्र अनुगमनका कारण राजस्व बढेको हो । कर नतिर्नेमा काठमाडौं मल, सिटिसी मल, नेपाल विद्युत् प्राधिकरण, वर्ल्ड  ट्रेड सेन्टर, सञ्चय कोष भवनलगायत छन् । अब उनीहरूको तथ्यांक संकलन गरी राजस्व तिर्न ताकेता गर्छौँ ।

आर्थिक वर्ष ०७९/८० मा भने महानगरले कर संकलनको दायरा बढाएको छ । अघिल्लो वर्ष ०७८/७९ मा भन्दा १३ हजार तीन सय १९ करदाता थपिएका छन् । कर तिर्नेको संख्या बढेसँगै महानगरले आर्थिक वर्ष ०७९/८० मा राजस्व संकलन भने वृद्धि गरेको छ । ‘यसपटक तीव्र अनुगमन र करदाता बढेकाले राजस्व पनि बढेको हो,’ राजस्व विभागका निर्देशक काफ्लेले भने, ‘यसपटक हामीले कर तिर्दै नतिरेकालाई ताकेता ग¥यौँ, वडा सदस्यको नेतृत्वमा अनुगमन गर्न पठायौँ ।’ उनका अनुसार महानगरलाई राजस्व नतिर्नेमा व्यक्तिगत घर, व्यावसायिक तथा बिजनेस कम्प्लेक्स, सरकारी कर्पोरेट कार्यालयलगायत छन् । ‘कर नतिर्नेमा काठमाडौं मल, सिटिसी मल, नेपाल विद्युत् प्राधिकरण, वर्ल्ड ट्रेड सेन्टर, सञ्चय कोष भवनलगायत छन्,’ उनले भने, ‘अब उनीहरूको तथ्यांक संकलन गरी राजस्व तिर्न ताकेदा गर्छौँ ।’

कुन वर्ष कति राजस्व संकलन ?
राजस्व विभागका अनुसार तीन वर्षको तुलनामा महानगरले आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी राजस्व रकम संकलन गरेको छ । यस वर्ष महानगरले चार अर्ब ८५ करोड एक लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ८२ करोड ६६ लाख ४२ हजार चार सय ४५ रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम करिब १२०.१३ प्रतिशतले बढी हो भने ०७८/७९ को तुलनामा ९७ करोड रुपैयाँले बढी हो । 

महानगरले सबैभन्दा बढी राजस्व घरबहाल करबाट संकलन गरेको छ । यसमा दुई अर्ब लक्ष्य राखिएकोमा दुई अर्ब ५६ करोड २१ लाख २१ हजार नौ सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, घर सम्पत्ति बहाल तथा पट्टाबापत आयमा लाग्ने करतर्फ एक अर्ब लक्ष्य राखिएकोमा एक अर्ब ३१ करोड ९३ लाख चार हजार सात सय ५३ रुपैयाँ संकलन भएको छ । त्यस्तै, सम्पत्ति करतर्फ एक अर्ब आठ करोड २७ लाख दुई हजार दुई सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ । यसमा पनि एक अर्ब लक्ष्य राखिएको थियो । त्यस्तै भूमिकर र मालपोततर्फ एक करोड १९ लाख ४१ हजार तीन सय ६६ रुपैयाँ राजस्व संकलन भएको छ । 

०७८/७९ देखि सुध्रिएको थियो राजस्व संकलन
त्यसअघि आर्थिक वर्ष ०७८/७९ मा चार अर्ब ३४ करोड ३२ लाख लक्ष्य राखिएकोमा चार अर्ब ४६ करोड ५० लाख ५४ हजार नौ सय ५१ रुपैयाँ राजस्व संकलन भएको थियो । सो वर्ष पनि सबैभन्दा बढी कर घरबहाल करबाट संकलन भएको थियो । त्यसमा एक अर्व ७५ करोड लक्ष्य राखिएकोमा दुई अर्ब ३६ करोड ४८ लाख राजस्व संकलन भएको छ । त्यस्तै, सम्पत्ति करतर्फ आठ करोड लक्ष्य राखिएकोमा आठ करोड ७६ लाख ४५ हजार ६ सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ । ०७८/७९ मा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले ठूला करदाताकहाँ बाजा बजाएर राजस्व संकलन गर्न टोली पठाएका थिए । त्यसले गर्दा ०७८/७९ देखि राजस्व संकलनमा केही सुधार आएको थियो । 

०७७/७८ मा अनुमानका आधारमा लक्ष्य राख्दा कम राजस्व संकलन 
०७७/७८ मा महानगरले संकलन गरेको जम्मा कर तीन अर्ब ५४ करोड २४ लाख ३६ हजार थियो । त्यस आवमा महानगरले ६ अर्ब ११ करोड २१ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य राखे पनि त्यसको आधा मात्रै राजस्व संकलन भएको महानगरका राजस्व विभागका निर्देशक काफ्लेले बताए । उनका अनुसार त्यस वर्षको लक्ष्य अत्यधिक बढी राखिएपछि राजस्व संकलन आधा मात्रै भयो । तर, त्यसयताका वर्षहरूमा भने महानगरले राजस्व संकलनको लक्ष्य कम राख्यो । अनुमानका भरमा लक्ष्य राख्दा वास्तविकतामा त्यसलाई भेट्टाउन नसकिएकाले त्यसपछिका वर्षहरूमा लक्ष्य तथा प्रस्तावित राजस्व रकम कम अनुमान गर्न थालियो । 

सुझावित समाचार